भीमफेदी इच्छाकामना गणेश मन्दिरको शताब्दी महोत्सव

३० जना जेष्ठ नागरिक सम्मान गरिने
साझाकुरा
२०८२ भाद्र १४, शनिबार ०९:०५

हेटौंडा-मकवानपुरको ऐतिहासिक धार्मिक तथा सांस्कृतिकस्थल भीमफेदीस्थित इच्छाकामना गणेश मन्दिरले यसवर्ष स्थापना शताब्दी महोत्सव भव्यरुपमा मनाउने तयारी गरेको छ । शताब्दी पर्वको अवसरमा मन्दिर परिसरमा विशेष पूजाअर्चना, महायज्ञ तथा सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन् । भीमफेदीक्षेत्रका ३० जना अशक्त तथा जेष्ठनागरिकलाई सम्मान गरेर ‘जेष्ठताको उच्च सम्मान’ प्रदान गरिने फाउण्डेशनका प्रतिनिधिले जनाएका छन् । सन् १९८२ सालमा भीमफेदी बजार निवासी समाजसेवी लालधर श्रेष्ठद्वारा स्थापना गरिएको इच्छाकामना गणेश मन्दिर शताब्दी पूरा गर्न सफल भएको हो ।
मन्दिर स्थापना पछाडिको उद्देश्य धार्मिक आस्था मात्र नभई समाजलाई एकताको सूत्रमा बाँध्ने थियो । एक शताब्दीपछि पनि मन्दिर त्यत्तिकै आस्था, विश्वास र श्रद्धाको केन्द्र बन्न सफल भएको स्थानीय श्रद्धालुको भनाइ छ ।

हेटौंडा निवासी विजयलाल श्रेष्ठका अनुसार, शताब्दी महोत्सव कार्यक्रम आगामी भदौ १४ गते बिहान एक महायज्ञबाट शुभारम्भ हुनेछ । त्यसपछि दिनभर पूजाआजा, भजनकीर्तन, र सामूहिक दर्शन आयोजना हुने र दिउँसो विशेष समारोहमार्फत् ३० जना जेष्ठ नागरिकलाई सम्मान गर्ने तयारी गरिएको छ । यसैबीच, हाल मन्दिर जीर्णअवस्था पुगेपछि स्थानीय समाजसेवीको नेतृत्वमा ‘मन्दिर जीर्णोद्धार समिति’ गठन गरिएको छ । समितिका अध्यक्ष राजेशदास अमात्यका अनुसार, गत आर्थिक वर्ष २०८१÷८२ मा भीमफेदी गाउँपालिकाबाट दुई लाख रुपैयाँको अनुदान प्राप्त भइसकेको छ । विभिन्न दाता तथा श्रद्धालुको सहयोगमा हालसम्म ३ लाख १७ हजार एकसय २६ रुपैयाँ संकलन भइसकेको छ । मन्दिर जीर्णोद्धारलाई दीर्घकालीनरुपमा अघि बढाउने लक्ष्य समितिले लिएको छ ।

४ हजार ९ सय ९९ रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताको नाम मन्दिर परिसरमा शिलालेख मार्फत् उल्लेख गरिने जनाइएको छ । समितिले सहयोग संकलनलाई भदौ २१ गतेसम्म जारी राख्ने निर्णय गरेको छ भने भदौ २२ गते पर्ने गणेशजात्राको अवसरमा सहयोगी दातालाई सम्मान तथा प्रशंसापत्र वितरण गरिने समाजसेजी राजेशदास अमात्यले जानकारी दिए ।भीमफेदी बजारको बीच भागमा अवस्थित इच्छाकामना गणेश मन्दिरलाई स्थानीयवासीले धार्मिक मात्र नभई ऐतिहासिक सम्पदाको रुपमा पनि लिएकाछन् । यस मन्दिरसँग जोडिएको सामाजिक–सांस्कृतिक इतिहासलाई भावी पुस्तामा जीवित राख्न शताब्दी महोत्सवले थप योगदान गर्ने स्थानीयको विश्वास छ । मन्दिर जीर्ण भएपछि स्थानीय समाजसेजी अमात्यको अध्यक्षतामा मन्दिर जीर्णोद्धार समिति गठन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*