लागूऔषधसहित २ जना पक्राउ
हेटौंडा-मकवानपुर प्रहरीले दुई भिन्नस्थानबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१९ वस्तीपुरबाट प्रहरीले गाँजासहित रौतहट गरुडा नगरपालिका–६ का १९ वर्षीय दुर्गाकुमार साहलाई पक्राउ गरेको हो । बस्तीपुरस्थित सडकमा झोला बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले शंका लागेर खानतलासी गर्दा उनको झोलाबाट ७ किलो ६५० ग्राम गाँजा बरामद गरेको थियो । साहले बोकेको झोलामा प्लास्टिकमा गाँजा लुकाएर ल्याएका थिए ।
यसैगरी हेटौंडा–१३ ठूलोथलीबाट लागूऔषधसहित सोहीस्थान बस्ने ४५ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । ठुलोथलीको बाटोमा हिँडिरहेको अवस्थामा प्रहरीले शंका लागेर मोक्तानले बोकेको झोला खानतलासी गर्दा २ हजार १ सय ट्रामाडोल ट्याब्लेट फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध मुद्दामा म्याद लिई अनुसन्धान गरिरहेको छ ।







