राखेपको वार्षिकोत्सब : मकवानपुरको बागमती गाउँपालिका देशकै उत्कृष्ट स्थानीय तह
हेटौंडा-राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवमा मकवानपुरको बागमती गाउँपालिकालाई सम्मान गरिएको छ । खेलकुदक्षेत्रमा देशभरमै उत्कृष्ट कार्य गरेको भन्दै बागमती गाउँपालिकालाई सम्मान गरिएको हो । नेपाली खेलकुद क्षत्रको विकास र विस्तारमा बागमतीले गरेको कार्य उदाहरणीय रहेको भन्दै सम्मान गरेको हो । शुक्रबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपमा सदस्य सचिव टंकलाल घिसिङलगायतले बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीयअधिकृत ओमबहादुर दर्जी, बागमती गाउँपालिका खेलकुद समितिका अध्यक्ष रहरसिं थिङ र निवर्तमान अध्यक्ष अरुण बल लगायतलाई सम्मानपत्र प्रदानगरेका हुन् ।
राखेपले हरेकवर्ष खेलकुद क्षेत्रमा गरेको लगानी, प्रतियोगिता आयोजना, पूर्वाधार निर्माण, खेलाडी उत्पादन र प्रोत्साहन लगायतको विभिन्न प्रतियोगिताको नतिजाको मूल्यांकन गर्दै एक स्थानीय तहलाई सम्मान गर्दै आइरहेको छ । बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रंगशाला निर्माण, फुटबल एकेडेमी सञ्चालन र राष्ट्रियस्तरको गोल्डकप सञ्चालन गर्दै आइरहेको छ । राखेपले आफ्नो वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरेको छ ।







