राक्सीराङका वडाध्यक्ष बसाइँ सरेका आफ्ना नागरिक खोज्दै
हेटौंडा- पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–३ का वडाध्यक्ष उत्तम वाइबा वडादेखि टाढा बसाइँ सरेका आफ्ना नागरिक खोज्दै चितवन र मनहरीसम्म पुगेका छन् ।आर्थिक वर्षको सुरुवातमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडाबासीको विवरण अद्यावधिक गर्न सेवाग्राही खोज्दै वडाध्यक्ष वाइबा गाउँबस्ती, छिमेकी पालिका हुँदै छिमेकी जिल्लासम्म पुगेका हुन् । वडा बाहिर रहेका आफ्ना नागरिकको बसोबास स्थानमै कर्मचारीसहित पुगेर वडाध्यक्ष वाइबाले जेष्ठनागरिक र अशक्त व्यक्तिको विवरण अद्यावधिक गरिरहेका छन् । राक्सिराङ गाउँपालिका वासिन्दा बसार्ईं सरेर नजिकैको मनहरी र सीमावर्ती जिल्ला चितवनको राप्ती नगरपालिकासम्म पुगेका छन् ।
विकट गाउँको बस्तीबाट सहरमा बसोबास गरेपनि उनीहरुको मतदाता अधिकार पुरानै वडामा रहेको छ । बाढी, खोला र बाटोको समस्या कारण अशक्त अपा· तथा ज्येष्ठनागरिकलाई वडासम्म आउन गाह्रो हुने भएर घरघरमै पुगेर सेवा दिइएको वडाध्यक्ष वाइबाले बताए । यसो गर्दा गाउँबस्तीमा वासिन्दासँग सम्बन्ध पनि नवीकरण हुनुका साथै पछि भत्ता वितरणमा समस्या नहुने उनले बताए । उनको यो कदमलाई स्थानीयले निकै प्रशंसा गरेका छन् । घरमै स्थानीय सरकार पुगेपछि जेष्ठनागरिक निकै खुशी भएका छन् ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भौगोलिक हिसाबले आउजाउमा कठिन हुने जेष्ठनागरिक र अशक्तलाई घरमै गएर सेवादिने काम प्रभावकारी भएको बताएका छन् । बुधबारदेखि सुरु भएको अभियान आइतबारसम्म जारी रहने वडाअध्यक्ष वाइबाले बताए । यस अवधिमा कम्तिमा ५० जना जेष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर सेवादिने योजना रहेको छ । राक्सिराङको केही वडा हेटौंडा र मनहरी बजारसँग जोडिएको छ भने केही वडामा जान चितवनको राप्ती नगरपालिका हुँदै जानुपर्ने अवस्था रहेको छ ।







