बागमतीमा इडिएलएस र भिआरएस सेवा सुरु
हेटौंड-बागमती प्रदेश सरकारले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम (इडिएलएस) र भेइकल रेजिष्ट्रेसन सिस्टम (भिआरएस) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले यातायात व्यवस्थापनलाई आधुनिक, पारदर्शी र डिजिटल बनाउन यो प्रणाली सुरु गरेको हो । अब सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अनलाइन मार्फत् आवेदन दिन, परीक्षण नतिजा हेर्न र प्रिन्टिङ प्रक्रियासम्म सहज हुने श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । यसले लाइसेन्स सेवामा देखिने ढिलासुस्ती र अनियमितता नियन्त्रण हुने मन्त्री जयराम थापाले बताए ।
उनका अनुसार यो प्रणाली लागू भएपछि सवारी साधन दर्ता, नवीकरण तथा अन्य कागजी प्रक्रियामा देखिने झन्झट अन्त्य भई सबै विवरण डिजिटलीकरण हुनेछन् । यसले प्रदेशका नागरिकलाई घरमै बस्दै सेवा लिन सजिलो हुने र सरकारी कार्यालयमा भीड कम गर्ने अपेक्षा गरिएको मन्त्री थापाले बताए । सेवाग्राहीले मोवाइल वा कम्प्युटरमार्फत आफ्नो लाइसेन्स तथा सवारी साधन दर्ता विवरण सजिलै हेर्नसक्ने व्यवस्था मिलाइएको छ ।
सिस्टम लागू भएसँगै बागमती प्रदेश ‘डिजिटल यातायात सेवा’ को नयाँ युगमा प्रवेश गरेको मन्त्री थापाले दाबी गरे । नागरिकमैत्री सेवाप्रवाहसँगै सुशासन र पारदर्शिता कायम गर्न यो महत्वपूर्ण कदम हुने उनको भनाई छ । साथै, बागमती प्रदेश सरकारले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम र भेइकल रेजिष्ट्रेसन सिस्टम सञ्चालनमा ल्याइएसँगै लाइसेन्स र बिलबुक नागरिक एपमै हेर्न मिल्ने भएको छ । सेवा बिस्तारसँगै सवारीधनीले
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी दर्ता किताब (बिलबुक) सधैँ साथमै बोक्नुपर्ने झन्झट हट्नेछ । नवीकरणको निवेदन पनि अनलाइनमार्फत् गर्न सकिने भएकाले सेवाग्राहीले घरमै बसेर मोवाइल वा कम्पुटरमा प्रदेश सरकारको एप्स डाउनलोड गरेर सेवा लिन सक्नेछन् । सेवाग्राहीको समयको बचत र जरिवानाबाट मुक्त हुनुका साथै यातायात कार्यालयमा हुने भिड कम हुनेछ र नागरिकले घरमै बसेर कार्यालयले सेवा लिन सजिलो हुने मन्त्रालयले जनाएको छ ।







