हेटौंडा यातायात कार्यालयबाट पाइन्छ इम्बोस्ड नम्बर प्लेट
हेटौंडा-सरकारले इम्बोस्ड नम्बर अनिवार्य गरेसँगै अहिले विभिन्न ९ वटा कार्यालयबाट यसको जडान भइरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।विभागका अनुसार बागमती प्रदेशका हकमा यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुर, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडा मकवानपुर र यातायात व्यवस्था कार्यालय गुर्जुधारा र सवारी परीक्षण कार्यालय टेकुमा इम्बोस्ड नम्बर जडान भइरहेको छ । गण्डकी प्रदेशमा यातायात व्यवस्था कार्यालय कास्की पोखरामा जडान सुरु भएको छ । लुम्बिनी प्रदेशमा यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवल, दाङ तुल्सीपुर र नेपालगञ्ज बाँकेबाट यसको जडान भइरहेको छ । कर्णाली प्रदेशमा यातायात व्यवस्था कार्यालय सुर्खेतबाट जडान थालिएको छ ।
विभागका अनुसार असोज १ गतेदेखि भने थप ७ कार्यालयबाट इम्बोस्ट नम्बर जडान थालिने भएको छ । सुदूरपश्चिमका हकमा यातायात व्यवस्था कार्यालय धनगढी र कञ्चनपुरमा सोही दिनबाट इम्बोस्ड नम्बर जडान थालिने छ ।मधेशका हकमा यातायात व्यवस्था कार्यालय लहान सिरहाबाट जडान सुरु हुने भएको छ । बागमतीको चितवन, कोशीमा सुनसरी इटहरी र झापा बिर्तामोडमा १ असोजदेखि जडान थालिने भएको छ । संघ, प्रदेशका मन्त्रीस्तरीय विषयगत समिति बैठकले इम्बोस्ड नम्बर प्लेट जडान तीव्रता दिन १ असोजदेखि सवारीसाधन दर्ता, नामसारी वा नवीकरणमा इम्बोस्ड नम्बर अनिवार्य गरेको छ ।
विभागले आफूलाई पायक पर्ने समय र कार्यालय गएर यस्तो नम्बर प्लेट राख्न भनेको छ । यसबाट निकट भविष्यमा सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भई सवारीसाधनको विवरण डिजिटाइज हुनेछ । यसका लागि सरकारले सबै प्रदेश समेट्ने गरी मुख्य प्रवेशद्वार वा प्रवेश बिन्दुमा नेपालभरि १० स्थानमा आरएफआईडी गेट बनाउने भएको छ । यसमध्ये काठमाडौंको २ स्थानमा निर्माण सम्पन्न भई प्रयोगमा ल्याइसकिएको विभागले जनाएको छ ।







