बागमतीका ४ पालिकामा खोरेतमुक्त अभियान

साझाकुरा
२०८२ भाद्र १७, मंगलवार ०९:३८

हेटौंडा-बागमती प्रदेशका चार पालिकामा खोरेतमुक्त अभियान सुरु गरिने भएको छ । चीनमा भैंसीको मासु निर्यात गर्ने लक्ष्य सहित प्रदेश सरकारले अभियान सुरु गर्न लागेको हो । गतवर्ष पुसमा नेपाल र चीन सरकारबीच भैँसीको मासु निर्यातसम्बन्धी प्रोटोकल सम्झौता भएको थियो । सोही सम्झौता कार्यान्वयन गर्ने उद्देश्यले प्रदेशका सिन्धुली र मकवानपुरका चार पालिकालाई खोरेतमुक्त घोषणा गर्ने तयारी भएको हो । खोरेतमुक्त पालिका घोषणा भएपछि तीन वर्षभित्रै चीनमा मासु निर्यात सुरु गर्ने सरकारको योजना छ । सरकारले मकवानपुरको बागमती र बकैया गाउँपालिका तथा सिन्धुलीको हरिहरपुरगढी तथा मरिण गाउँपालिकालाई पहिलो चरणमा खोरेतमुक्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।

नेपाल–चीनबीच भएको द्विपक्षीय सहमतिअनुसार राँगा भैंसीको मासु चीन निर्यात गर्न निश्चित प्रोटोकल पालना गर्नुपर्ने शर्त रहेकाले सोही अनुसार खोरेतमुक्त अभियान सञ्चालनको तयारी थालिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडाका पशुचिकित्सक डा.अमिक श्रेष्ठले बताए । ‘नेपाल–चीनबीच भएको सहमतिअनुसार खोरेतमुक्त घोषणा नगरी मासु निर्यात सम्भव छैन । त्यसैले पहिलोचरणमा यी चार पालिकालाई खोरेतमुक्त बनाउन तालिम, सर्वेक्षण र खोप अभियान सुरु हुँदै छ,’ उनले भने ।

उनका अनुसार अभियान अन्तर्गत पहिलोचरणमा बागमती प्रदेशलाई खोरेतमुक्त क्षेत्र बनाउन चालू आर्थिक वर्ष ०८२÷८३ मा पशुपहिचान तथा दर्तासम्बन्धी तालिम, स्थलगत इपिडेमियोलोजिकल तालिम, पालिकास्तरमा छलफल, प्रादेशिक निर्देशक समिति बैठक, आधारभूत सर्वेक्षण र खोप कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै, निर्धारित क्षेत्रभित्र पाडापाडी पालन प्रोत्साहन कार्यक्रम ल्याइनेछ । यसअन्तर्गत कम्तिमा पाँचसय पाडापाडीको संख्या बढाउने लक्ष्य राखिएको श्रेष्ठको भनाइ छ । ‘निर्यात हुने मासु संक्रमणमुक्त र गुणस्तरीय हुनैपर्छ । चीन सरकारको सर्तअनुसार मासु निश्चित रोगमुक्त क्षेत्रमा पालन गरिएका तीन वर्षभन्दा कम उमेरका राँगा–भैँसीबाट उत्पादन भएको हुनुपर्छ,’ उनले भने । उनका अनुसार मापदण्ड पुगेको वधशालाबाट मात्र मासु उत्पादन हुनुपर्ने, तातोमा प्रशोधन गरिएको र सुरक्षित प्याकेजिङसहित चीन पठाउनुपर्ने हुन्छ ।

निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठले खोरेतमुक्त अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहमै सचेतनामूलक कार्यक्रमदेखि नियमित खोप अभियानसम्म सञ्चालन हुने बताए । उनले खोरेतविरुद्ध ६–६ महिनाको फरकमा खोप अभियान सञ्चालन गरिनेसमेत बताए । ‘खोरेत रोग नियन्त्रणका लागि प्रत्येक ६–६ महिनामा खोप अभियान चलाइनेछ । यस अभियानमा किसानको सक्रिय सहभागिता आवश्यक छ,’ उनले भने । निर्देशनालयको तथ्यांक अनुसार बागमती गाउँपालिका, बकैया गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिकामा पशुको संख्या २ लाख ७७ हजार ३२१ छ । जसमा राँगा÷भैँसीको मात्रै संख्या ३० हजार ८२६ छ । राँगा÷भैँसी पालनको लागि उपयुक्त क्षेत्र भएका कारण नेपाल सरकारले बागमतीका यी ४ स्थानीय तहलाई मासु उत्पादनको जोन बनाएर चिनमा मासु निर्यात गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*