हेटौंडा अस्पतालको निर्देशकमा डा. सापकोटा
हेटौंडा-मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निर्देशकमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार औपचारिक रुपमा नियुक्तिपत्र प्रदान गरेका हुन् । मन्त्री थापाले हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रकारुपमा विकास गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्वको आवश्यकता भएको बताए । उनले डा. सापकोटा जस्तो अनुभवी र दक्ष चिकित्सकको नेतृत्वमा अस्पतालको सेवास्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण हुने बताए । चितवनबासी वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटा हाल हेटौंडा अस्पतालका निमित्त निर्देशकको रुपमा कार्यरत रहेका थिए ।
पोखरास्थित मणिपाल मेडिकल कलेजबाट स्नातक तह र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जबाट स्नातकोत्तर अध्ययन पूरा गरेका डा. सापकोटा दशौं तहका चिकित्सककारुपमा लामो समयदेखि सेवाप्रदान गर्दै आइरहेका छन् । नियुक्तिपश्चात डा. सापकोटाले अस्पतालको स्वास्थ्यसेवा, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहने बताए । सबैको विश्वास जित्ने गरी काम गर्नु नै मेरो पहिलो प्राथमिकता हुने उनको भनाई छ । नवनियुक्त निर्देशकले उपकुलपति डा. ज्ञवालीबाट पद तथा गोपनीयताको सपथग्रहण गरे ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. दिनेशकुमार लम्साल, रजिस्ट्रार भीमसागर गुरागाईं, मन्त्रालयका महाशाखाप्रमुख सागर घिमिरे र डा. खगेश्वर गेलाल, अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्यहरु उत्सव चौलागाईं, हीरा वाइबा, लक्ष्मी पौडेल, प्रतिष्ठानका प्राध्यापक सुपेन्द्र कार्की र प्रशासनप्रमुख अमर अधिकारीलगायतको सहभागिता रहेको थियो ।







