कैलाशका लालकुमारको घर बन्ने, मुख्यमन्त्री बानियाँले दिए २ लाख रुपैयाँ
हेटौंडा- मकवानपुरको विकट मानिने कैलाशका लालकुमार प्रजाको सुरक्षित आवास बन्ने भएको छ । वडा नम्बर ४ धुसाराङ निवासी ५० वर्षका लालकुमार केही समयदेखि जीर्ण अवस्थामा रहेको घरमा बस्दै आइरहेका थिए । सीमान्तकृत त्यसमा पनि अति विपन्न अवस्थामा रहेका उनी जीर्ण घरलाई बनाउन नसक्दा सोही घरमा असुरक्षित महसुशका साथ बस्दै आइरहेका छन् । २०३२ सालमा जन्मिएका लालकुमारका कुनै सन्तान छैनन्, । उपचार गर्दा सन्तान नहुने भएपछि उनी श्रीमतीसँगै बस्दै आइरहेका छन् । लालकुमारको २ कठ्ठा नम्बरी र करिब ३÷४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी गाउँमै कृषि पेशा गर्दै आइरहेका छन् । उनकी श्रीमती सानुमाया चेपाङ सानै उमेरमा हात जलेर अपा·ताको रुपमा रहेकी छिन् । खेतीसँगै घरमा बाख्रा, कुखुरा पाल्दै आएका उनीहरुलाई सुरक्षित आवास निर्माणका लागि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँसमक्ष कैलाश गाउँपालिकाले सिफारिस पेश गरेको छ ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पत्र बुझाएलगत्तै लालकुमारको घर निर्माणको लागि मुख्यमन्त्री बानियाँले दुई लाख रकम प्रदान गरेका छन् । पालिकाभित्र सीमान्तकृत समूदाय चेपाङ, जनजाति, अति विपन्नको संख्या धेरै छन् जसमध्ये लालकुमारलाई छनोट गरी घर निर्माणको लागि सिफारिस गरिएको अध्यक्ष मुक्तानले बताए । सन्तान पनि छैनन्, खरको छानो, काठपातले मात्र घेरिएको अवस्था देखियो, जीर्ण अवस्थामा रहेकोले पनि हामीले घर निर्माणका लागि सिफारिस गरेका हौं, अध्यक्ष मुक्तानले भने ।
सिफारिसपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले घर निर्माणको लागि पहिलो किस्तास्वरुप दुई लाख सहयोग गरेका छन् । आफ्नो निर्वाचनक्षेत्रका नागरिक गासवास र कपासबाट बन्चित हुन नपरोस् भन्ने हेतुले सुरक्षित आवासका लागि लालकुमारको घर निर्माण गरिने मुख्यमन्त्री बानियाँले बताए । कार्यक्रममा कैलाश–१ का वडाध्यक्ष तेज ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, वडा ७ का अध्यक्ष उदासकुमार भुलन, ८ का अध्यक्ष आशिष प्रजा, ९ का अध्यक्ष भुवनसिं घलान, कैलाश गाउँपालिका नेपाली कांग्रेस वडातहका सभापतिहरुको उपस्थिति रहेको थियो । सुमनसिंको घर बनाउन पहिलो किस्ताबापत मुख्यमन्त्रीले दिए २ लाखराक्सिराङ गाउँपालिका–१ इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका मुख्यमन्त्री बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
गाउँपालिका जनप्रतिनिधि र नेपाली काँग्रेसका स्थानीय नेताको रोहबरमा बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई सोमबार २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सुत्केरी श्रीमतीलाई खुवाउने कुरा पनि केही नभएको र बस्ने घर पनि नभई झुप्रोमा बस्दै आएको थाहा पाएपछि राक्सिराङ गाउँपालिका र नेपाली काँग्रेस राक्सिराङ गाउँपालिकाको सिफारिसमा बानियाँले व्यक्तिगत खर्चमै घर निर्माण गरिदिने घोषणा गर्दै काम थालनी गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै बानियाँले आफ्नो तलबभत्ताको रकमबाट निर्वाचनक्षेत्रका अति विपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेका थिए ।
सोही घोषणाबमोजिम राक्सिराङको चेपाङ र मनहरीको एक विपन्न दलित महिलाको घर निर्माण सुरु भएको छ । दसैँअघि नै दुबै घर निर्माण सक्ने गरी काम गर्न मुख्यमन्त्री बानियाँले स्थानीय जनप्रतिनिधि र पार्टी नेतालाई निर्देशन दिएका छन् । राक्सिराङ १ का सुमनसिंघको २ वटा कोठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम भएको घर दशैँअघि नै निर्माण सम्पन्न गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । घर बनाउन खर्च हुने सबै रकम मुख्यमन्त्री बानियाँले बेहोर्नेछन् ।
मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ कि विपन्न दलित एकल मिठुमाया सुनारको पनि घर निर्माणका लागि यसअघि नै पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरिसकेका छन् । यसअघि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका वडा ९ निवासी मिठुमाया सुनारको घर निर्माणका लागि आवश्यक सहयोग गरिसकेका छन् ।







