२१३ किलोग्राम गाँजा बेवारिसे अवस्थामा बरामद

साझाकुरा
२०८२ भाद्र १७, मंगलवार १०:०८

हेटौंडा- मकवानपुर प्रहरीले सोमबार ठूलो परिमाणमा बेवारिसे अवस्थामा लागुऔषध गाँजा बरामद गरेको छ ।हेटौंडा उपमहानगरपालिका–३, च्यानडाँडास्थित भित्री जंगलको बाटोमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २१२ किलो ८६० ग्राम गाँजा फेला पारेको हो । प्रहरीचौकी बसामाडी लेवटबाट खटिएको टोलीलाई देख्नेबित्तिकै ७÷८ जना मानिसले बोकेको गाँजाको भारी जंगलतर्फ फालेर फरार भएको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा आवश्यक कारवाहीका लागि रितपूर्वक सुरक्षित गरिएको छ भने फरार व्यक्तिहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

मकवानपुर जिल्ला लागु औषध कारोबारको ‘ट्रान्जिट पोइन्ट’का रुपमा चिनिँदै आएको छ । यसअघि पनि विभिन्न मितिमा गाँजा, खैरोहेरोइन र अन्य लागूऔषधसहित व्यक्तिहरु पक्राउ परिरहेका छन् भने ठूलो परिमाणमा बरामद भएको छ । मकवानपुर प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको साथबाट खैरोहेरोइन र ट्रामाडोल क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–७ मिलनचोकस्थित सडकमा शंकास्पदरुपमा हिँडिरहेका हेटौंडा–५ बस्ने ३२ वर्षीय समिर महतलाई रोकी तलासी लिँदा खैरोहेरोइन फेला परेको हो । तलासीका क्रममा उनको साथबाट १० क्याप्सुल ट्रामाडोल र ४ ग्राम ९६० मिलिग्राम खैरोहेरोइन बरामद भएको प्रहरीले पुष्टि गरेको छ । बरामद गरिएको लागूऔषध सहित महतलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको र हाल उनलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*