थाहानगरले किसानलाई बायोटिनमा ५० प्रतिशत अनुदान दिने
हेटौंडा-मकवानपुरको थाहा नगरपालिकाले किसानलाई बायोटिन चूनमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाको कृषि विकास शाखाले ६ भदौमा सूचना प्रकाशन गरी अनुदानका लागि प्रस्ताव आह्वान गरेको हो ।आर्थिक वर्ष २०८२÷८३ स्वीकृत वार्षिक कार्यक्रमअनुसार ५० प्रतिशत अनुदान दिइने चूनका लागि कृषक समूह, कृषि सहकारी र कृषि फर्मले सूचना प्रकाशित मितिले ३० दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाले औद्योगिक प्रयोजनका लागि व्यवसायिक आलु उत्पादन कार्यक्रमका लागि पनि प्रस्ताव आव्हान गरेको छ । यस कार्यक्रम सञ्चालन गर्न पनि ३० दिने म्याद दिएर सूचना आह्वान भएको छ ।
अनुदान कार्यक्रममा सहभागी हुनका लागि किसानले अध्यक्ष वा प्रोपाइटरको नाम, मोवाइल नम्बर र समूह÷सहकारी÷फर्मको पान नं. अनिवार्य उल्लेख भएको लेटर हेडमा लेखिएको निवेदनका साथै दर्ता प्रमाणपत्रको दुबैतिर देखिने गरी एकप्रति, बैठकको निर्णय, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, पान प्रमाणपत्रको प्रतिलिपिलगायतको कागजात पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।







