राक्सीराङमा ३ दिन सार्वजनिक बिदा

साझाकुरा
२०८२ भाद्र १८, बुधबार ११:५६

हेटौंडा-चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा राक्सीराङ गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।गाउँपालिकाले २०८२ भदौ २१, २२ र २३ गते तीनदिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । यो अवधिमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्थाहरु बन्द हुने गाउँपालिकाले जनाएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले समृद्ध नेपालको राष्ट्रिय संस्कृतिको अभिन्न अंगकारुपमा चेपाङ समुदायले मनाउने यो पर्वलाई हर्षोल्लासका साथ मनाउन सबैलाई आग्रह गरिएको छ ।

पर्वको अवसरमा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले देशविदेशमा रहेका सम्पूर्ण चेपाङ समुदायलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।नयाँ अन्न देवतालाई नचढाई खान हुँदैन भन्ने मान्यता रहेकोले चेपाङ झाँक्री (पान्दे) ले ढ्यांग्रो ठोक्दै कुखुराको बलि दिएर नयाँ अन्न चढाउने चलन छ । फलफूल तथा अन्न चढाएपछि मात्र खान मिल्नेधार्मिक मान्यता रहेको छ ।

न्वागीमा चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाताकुटुम्बलाई निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ । चेपाङ समुदायमा साउन महिनामा देवता बाहिर जाने र भदौ लागेपछि भित्रने विश्वास रहेको बताए ।खेतबारीमा उत्पादन भएको घैयाधान, खोरियामा उत्पादन गरेको मकै, निवुवा, खुर्सानी, अदुवा, पिँडालु, काँचो खुर्सानीलगायत अन्नपात र फलफूल देवतालाई नचढाएसम्म नखाने प्रचलन छ, त्यसको उपयुक्त समय नै भदौ महिनाको पूर्णिमा हो । देवतालाई प्रसादको रुपमा अन्न चढाएपछि र झाँक्रीले रातभरि फलाकेपछि अन्न बाली खान मिल्ने विश्वास रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*