मनहरीमा डिभिजन वन कार्यालयको नयाँ भवन
हेटौंडा- पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित डिभिजन वन कार्यालयको नयाँ भवन निर्माण हुने भएको छ । निर्माण हुन लागेको पक्की भवनको बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्री भरत केसीले बुधवार शिलान्यास गरेका छन् । उनले जगपूजा गरेर भवनको शिलान्यास गरेका हुन् । १४ वटा कोठा रहने भूकम्प प्रतिरोधी भवन निर्माणका लागि १ करोड ७५ लाख रुपैयाँ लगानी हुने डिभिजन वन कार्यालय राप्तीका प्रमुख हेमबहादुर थापाले बताए ।
संविधान जारी भएर मुलुक संघीयता कार्यान्वयनमा गएसँगै मकवानपुरमा दुईवटा डिभिजनल वन कार्यालय स्थापना भएका हुन् । उत्तरपश्चिम मकवानपुर लक्षित गरी डिभिजन वन कार्यालय राप्ती मनहरी र सदरमुकाम हेटौंडामा केन्द्रित हुने गरी डिभिजन वन कार्यालय मकवानपुर स्थापित भएको हो । बागमती प्रदेशका १३ वटा जिल्लामध्ये सिन्धुली र मकवानपुर जिल्लामा २–२ वटा र अन्य ११ जिल्लामा एक–एक वटा डिभिजन वन कार्यालय स्थापित भएका छन् ।







