सञ्चारकर्मीसँग प्याब्सनको अन्तरक्रिया
हेटौंडा- आन्दोलनमा रहेका निजी विद्यालय सञ्चालकहरुले बिहीबार हेटौंडामा सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ ।संघीय संसद्मा प्रस्तुत भएको विद्यालय शिक्षा विधेयक २०८० मा समावेश भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै केन्द्रीय सर्कुलरबमोजिम निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरले अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रियामा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले शिक्षा विधेयकमा समावेश केही प्रावधानले निजीक्षेत्रको अस्तित्व र योगदानमाथि नै प्रश्न उठाएको बताए । विधेयकले असमानजनक व्यवहार गर्ने तथा संस्थागत अस्थिरता सिर्जना गर्ने जोखिम बोकेको हुँदा निजी शैक्षिकक्षेत्र अन्तर्गतका विभिन्न संघसंस्थाहरु एकजुट भई आन्दोलनमा रहेको उनले बताए ।
पछिल्लो समय प्याब्सनको आन्दोलनप्रति गलत भ्रम फैलाउने कोसिस भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । अध्यक्ष सुवेदीले आफूहरुको उद्देश्य विद्यालय बन्द गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नु नरहेको स्पष्ट पारे । प्याब्सन मकवानपुरका सल्लाहकार मदन दाहालले विधेयकमा व्यवस्था भएको पूर्ण छात्रवृत्तिको व्यवस्था, निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधानप्रति आफूहरुको असन्तुष्टि भएको बताए । २०५९ सालमा सरकारले बनाएको कानुन अनुसार नै निजी विद्यालयहरु कम्पनीमा गएको उनले बताए ।
राज्यले नै दिएका सेवा सुविधालाई कानुनविपरीत कटौती गर्न नपाउने उनको धारणा छ । राज्यले आपूmहरुको लगानी सुनिश्चित गरिदिए निजी विद्यालयहरु राज्यले लिँदा फरक नपर्ने उनले बताए । सल्लाहकार दाहालले सरकारी विद्यालयमा जत्तिकै लगानी निजी विद्यालयका विद्यार्थीलाई गर्ने हो भने छात्रवृत्तिका लागि आफूहरू तयार रहेको बताए । अन्तरक्रियामा वरिष्ठ पत्रकार प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति थियो । प्याब्सनको आन्दोलन कार्यक्रमअन्तर्गत राजनीतिक दलहरुसँग भेटघाट गर्ने, निजी विद्यालयका सञ्चालकलाई काठमाडौँमा केन्द्रित गर्ने लगायत कार्यक्रम रहेको छ ।
भदौ २५ गते देशभरका निजी विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक कर्मचारीको अनिवार्य सहभागितामा काठमाडौँमा बृहत आन्दोलन गरिने भएको छ । कार्यक्रममा प्याब्सन, एनप्याब्सन, हिसान, अपेनलगायत निजी विद्यालयका छाता संगठनहरुको सहभागिता थियो ।







