बागमती प्रदेश सरकारले ३ दिन संविधान दिवस मनाउने
हेटौंडा- बागमती प्रदेश सरकारले तीनदिन संविधान दिवस मनाउने भएको छ । बिहिबार हेटौंडामा बसेको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को प्रदेशस्तरीय मूल समारोह समिति गठन तथा कार्यक्रम ब्यवस्थापन सम्बन्धी बैठकमा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले असोज १, २ र ३ गते संविधान दिवस मनाउने जानकारी दिएका छन् । संविधान दिवसलाई सबैले आआफ्नो क्षेत्रबाट उत्सवको रुपमा मनाउन उनले आग्रह गरे । मुख्यमन्त्री बानियाँले अहिलेको व्यवस्थाप्रति जनतालाई भरोसा जगाउँदै संविधान संशोधन गर्नुपर्ने बताए । संविधानलाई अझै व्यवस्थित र मर्यादित बनाउन केही प्रावधानलाई संशोधन गर्नुपर्ने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले २०७२ सालमा जारी भएको संविधानले सबैको महत्व र अस्तित्वलाई स्वीकार गरेको बताएका छन् ।
जनताको जनबलमा आएको संविधानको रक्षा गर्ने जिम्मेवारी सबैको भएको उनले बताए । बैठकले संविधान दिवस मनाउन मुख्यमन्त्री बानियाँको अध्यक्षतामा ४३ सदस्यीय प्रदेशस्तरीय मुल समारोह समिति गठन गरेको छ । संविधान दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयको संयोजनमा असोज १ गते ‘संविधानः सबल राष्ट्रको निर्माणको आधार’ विषयक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता र सोही दिन युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्को आयोजनामा खेलकुद प्रतियोगिता हुनेछ । असोज २ गते स्वास्थ्य मन्त्रालयको संयोजनमा रक्तदान र वन तथा वातावरण मन्त्रालयको संयोजनमा वृक्षरोपण हुनेछ ।
दिवसको मुख्यदिन असोज ३ गते हेटौंडा नगरक्षेत्रको विशेष सरसफाईको व्यवस्थापन गरिनेछ । सोही दिन हेटौंडाको भुटनदेवी माविबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म प्रभातफेरी गरी प्रदेशप्रमुखको प्रमुख आतिथ्यता र सभामुखको विशेष आतिथ्यतामा औपचारिक कार्यक्रम गरिने भएको छ । त्यसैगरी असोज २, ३ र ४ गते साँझ प्रदेश स्थित सबै मन्त्रालय, कार्यालय, सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठानलाई दीपावली गर्न र प्रदेशबासीलाई पनि घरपरिसरमा दीपावली गर्न आह्वान गरिएको छ ।







