न्वागी पर्वमा बागमतीको ३ जिल्लामा सार्वजनिक बिदा

साझाकुरा
२०८२ भाद्र २०, शुक्रबार १२:१०

हेटौंडा-चेपाङ जातिको महत्वपूर्ण पर्व न्वागी पर्वको अवसरमा भदौ २२ गते बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको पर्व न्वागी (छोनाम) को अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै भदौ २२ गते आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको हो ।

बागमती प्रदेश सरकारको गत चैतमा बसेको मन्त्रिपरिषद् बैठकले चेपाङ समुदायको न्वागी पर्वको बिदा दिने निर्णय गरेको थियो । मन्त्रालयकी सहप्रवक्ता रविता कार्कीका अनुसार बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनाबमोजिम यो बिदा दिने निर्णय गरिएको हो ।

चेपाङ समुदायको बाक्लो बसोबास रहेका तीन जिल्लामा न्वागी पर्वको अवसरमा बिदा दिइएको उनले बताइन् । न्वागी पर्वमा चेपाङ समुदायले नयाँ अन्नबाली र फलफूल प्रकृति, देवपितृलाई चढाएर मात्र खाने प्रचलनसँग सम्बन्धित छ । चेपाङ समुदायले खेतबारीमा गरेको नयाँ उब्जनी पितृहरुलाई नचढाई खाएमा अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*