मकवानपुरमा फिफा फुटबल फर स्कूल्स कार्यक्रम सुरु

देशभरका ७ लाख विद्यार्थीको खुट्टामा बल पु¥याउने एन्फाको लक्ष्य
साझाकुरा
२०८२ भाद्र २१, शनिबार ०८:५२

हेटौंडा-७ लाख विद्यार्थीको खुट्टामा बल पु¥याउने लक्ष्यसहित सञ्चालित फिफा फुटबल फर स्कूल्स कार्यक्रम मकवानपुरमा सुरुवात गरिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रमअन्तर्गत मकवानपुर जिल्ला फुटबल संघको आयोजनमा हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको सहयोगमा सञ्चालित कार्यक्रमले विश्वभरका ४ देखि १४ वर्ष उमेर समूहका ७० करोड बालबालिका माझ फुटबल पु¥याउने लक्ष्य फिफाले लिएको छ । यो कार्यक्रम नेपालको ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा लागू हुने एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले जानकारी दिए । कार्यक्रमअन्तर्गत कुल ३२ हजार ६ सय ४० वटा फुटबल वितरण गरिने उनले बताए ।

मकवानपुरमा २२ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन हुनेछ । अध्यक्ष नेम्वाङले यो कार्यक्रम बालबालिकाको समग्र विकासका लागि वृहत् पहल भएको बताए । यो कार्यक्रममार्फत् बालबालिकाको शिक्षा, नेतृत्व विकास र सशक्तिकरणमा टेवा पु¥याउने लक्ष्य रहेको उनको भनाई छ । अध्यक्ष नेम्बाङले फिफा फुटबल फर स्कुल कार्यक्रमले नेपाली फुटबल विकासमा नयाँ अध्याय सुरु हुने आशा व्यक्त गरे । आधारभूत सामग्री र प्रशिक्षण अभावका कारण फुटबलर बन्ने सपना बोकेका बालबालिकाको लागि यो कार्यक्रम महत्वपूर्ण रहेको एन्फा अध्यक्ष नेम्वाङको भनाइ छ ।

उनले यो महत्वाकांक्षी कार्यक्रमबाट फिफाले युनेस्कोको सहयोगमा करिब ७० करोड बालबालिकाको खुट्टामा बल पु¥याउने अपेक्षा राखेको बताए । नेपालमा भने सात लाख विद्यार्थीको खुट्टामा फुटबल पुग्ने अपेक्षा एन्फाको छ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले खेलाडीको खेल कौशललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन एन्फाले ठुलो भूमिका खेलेको बताइन् । खेलकुदको क्षेत्रमा सरकारले जति गर्नु पर्ने हो, त्यत्ति गर्न नसकेको उनले बताइन् । मन्त्री नेपालले मुख्यमन्त्री बानियाँको प्रशंसा गर्दै खेलकुदको विकासमा मुख्यमन्त्री अत्यन्त संवेदनशील रहेको बताइन् । बागमती प्रदेशलाई स्पोट्र्स हब बनाउन सरकार कटिबद्ध रहेको उनले बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले खेलकुदको समग्र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । उनले गौरीटार रंगशालालाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्नेगरी निर्माण सम्पन्न गरिने प्रतिबद्धता जनाए । फुटबल अब राष्ट्र र स्वास्थ्यका साथै शिक्षासँग पनि जोडिएको बताउँदै मुख्यमन्त्री बानियाँले विद्यालयका विद्यार्थीलाई फुटबलसँग जोड्न एन्फाले गरेको प्रयास सराहनीय भएको उल्लेख गरे । फुटवल विश्वमा सबैभन्दा लोकप्रिय खेल हो । यही खेलको सर्वोच्च निकाय फिफाले फुटवललाई जनस्तरसम्म लैजान विभिन्न पहल र कार्यक्रम गर्दै आएको छ ।

यसै क्रममा फिफाले सन् २०१९ मा फिफा फुटबल फर स्कुल्स भन्ने कार्यक्रमको सुरुवात क्यारेबियन क्षेत्रमा पर्ने पोर्तो रिकोबाट ग¥यो । अहिले यो कार्यक्रम १ सय ३९ देशमा सञ्चालन भइरहेको छ । फिफा अध्यक्ष जियानी इनफान्टिनोको इनिसियटिभ प्रोगामको रुपमा युनेस्कोसँगको सहकार्यमा ४ देखि १४ वर्ष उमेर समूहको बालबालिकामाझ फुटबल पु¥याउने र उनीहरुको जीवनमा सशक्तिकरण, सामूहिक भावना, शारीरिक र मानसिक तदुरुस्ती र सामाजिक भावनालाई प्रश्रय दिने उद्देश्यअनुरुप फुटवलको यो कार्यक्रम ल्याइएको हो । दक्षिण एसियामा भने पहिलोपटक भुटानमा यो कार्यक्रम सुरु भएको थियो ।

भारतले यो कार्यक्रम संचालन गरिसकेको छ । फुटबलमार्फत बालबालिकामा एक्स्ट्रा एक्टिभिटिजलाई प्रस्फुटन गराउन एउटा गतिलो माध्यम बनोस् भन्ने उद्देश्यसहित कार्यक्रमको सुरुवात गरिएको एन्फाले जनाएको छ । ग्रासरुटमा पुग्ने फुटबल फर स्कूल्सले बालबालिकालाई फुटवल सम्बन्धी ज्ञानमात्र नभई टिमवर्क, अनुशासन र लगाव लगायत विषयलाई जोड्ने देखिन्छ । खेलकुद आफैंमा एउटा अनुशासन सिकाउने माध्यम भएकाले फुटवलको बहुआयामिक पक्षसँग बालबालिकाले साक्षात्कार गर्न पाउने कतिपयको बुझाइ छ । फिफा फुटबल फर स्कुल्स कार्यक्रमले नेपालमा खेलाडी उत्पादनका लागि महत्वपूर्ण योगदान गर्न सक्ने एन्फाको बुझाइ छ । यस कार्यक्रमका माध्यमबाट फुटवल ट्यालेन्टलाई अझ बढी फाइदा पु¥याउने अपेक्षा गरिएको छ ।

यसैबीच गत असोजमा मकवानपुरको सिस्नेरीस्थित एन्फा एकेडेमी रहेको बत्सलादेबी मावि नजिकको पहिरोमा परी निधन भएका १४ वर्षमुनिका फुटवल खेलाडी अनुपम घलान, साईमन योन्जन, दिवस बानियाँ, आदित्य बलम्पाकी, प्रिन्स आचार्य र बिकल रेग्मीको स्मृतिमा यु–१४ विद्यालयस्तरीय मकवानपुर जिल्ला क्वालिफाइङ छात्र फुटबल प्रतियोगिता पनि सुरु भएको छ । प्रतियोगिता भदौ २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*