समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय अभियान सुरु
हेटौंडा-गरिबी, बेरोजगारी, भ्रष्टाचार, असमानता र विभाजनले मुलुकलाई जकडिरहेको भन्दै ‘समृद्ध राष्ट्र निर्माणका लागि सक्रिय अभियान’ सुरु गरिएको छ । सार्वजनिक अपिलमार्फत अभियानकर्मीहरुले आह्वान गर्दै आमनागरिकलाई राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सक्रिय हुन आग्रह गरेका छन् । अभियानको अपिलपत्रमा गरिबी निवारण, सुशासन, आत्मनिर्भर अर्थतन्त्र र सामाजिक न्यायलाई प्राथमिकतामा राखी नयाँ नेपाल निर्माण गर्न सकिने उल्लेखगरिएको छ ।
नेपालमा करिब २५ प्रतिशत नागरिक गरिबीको रेखामुनि जीवन बिताइरहेका छन् भने ३० प्रतिशत भन्दामाथि युवा रोजगारीको अवसर नपाएर विदेशिन बाध्य भएको अपिलमा भनिएको छ ।यसले देशको उत्पादनशील जनशक्ति घटाउँदै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाइरहेको उल्लेख छ । अभियानले शिक्षा, स्वास्थ्य, रोजगारी, सीप विकास र शोषणविहीन समाज निर्माणलाई प्रमुख एजेन्डा बनाएको छ । साथै, कृषिमा आत्मनिर्भरता, घरेलु उद्योगको प्रवद्र्धन, प्राकृतिक स्रोतसाधनको उपयोग, सुशासन र भ्रष्ट्राचार नियन्त्रणलाई अपरिहार्य शर्तकारुपमा अघि सारेको छ ।
अभियानले प्रस्तुत गरेको मुख्य कार्यक्रम र विचारमा आर्थिक स्वावलम्बन, रोजगारी सिर्जना, सुशासन, सामाजिक न्याय, लैंगिक समानता, सांस्कृतिक संरक्षण र राष्ट्रिय स्वाभिमानलाई जोड दिइएको छ । विद्यमान प्रणालीले नागरिकलाई रोजगारी र सम्मानजनक जीवन दिने अवस्था नबनाएकाले वैकल्पिक मार्ग खोज्नु अनिवार्य भएको अपिलमा भनिएको छ ।
यसै सन्दर्भमा अभियानले भदौ १७ देखि असोज २१ गतेसम्म ‘समृद्ध राष्ट्र निर्माणका लागि सप्ताह’ मनाउँदै जनजागरण कार्यक्रम चलाउने घोषणा गरेको छ ।यो अवधिमा देशभर सभा, गोष्ठी, अन्तरक्रिया र प्रचारप्रसार कार्यक्रम गर्ने अभियानको तयारी छ । अभियानका संयोजक प्रकाश थापा मगरले मुलुकलाई आत्मनिर्भर र सुशासनयुक्त बनाउन नागरिकको ऐक्यबद्धता अपरिहार्य भएको बताए ।







