आयुर्वेदिक पद्धति मानवसभ्यतासँग जोडिएको छ : मुख्यमन्त्री बानियाँ

साझाकुरा
२०८२ भाद्र २१, शनिबार ०९:११

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आयुर्वेदिक पद्धति प्राचीन पहिचान भएको बताएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौंडाको निरीक्षण गर्दै उनले आयुर्वेदिक विज्ञान मानव विकास सभ्यतासँग जोडिएको स्पष्ट पारे । ‘हाम्रा ऋषिमुनिले गरेको पद्धति यही हो । यथार्थ मान्छेको जीवन, माटो, विभिन्न उत्पादन प्रक्रिया र वनस्पतिसँग आयुर्वेदिक पद्धति जोडिन्छ,’ मुख्यमन्त्री बानियाँले भने । चिकित्सालय निरीक्षणका क्रममा उनले १६ शैयाको आयुर्वेदलाई २५ शैयामा लैजाने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री बानियाँले आवश्यक उपकरण खरिदका लागि पनि अर्थ मन्त्रालयबाट प्रक्रिया पूरा गरी कार्य अगाडि बढाइने बताए । उनले आयुर्वेद गरिबका लागि सजिलो उपचार पद्धति भएको बताउँदै गरिबले सेवा पाउने पद्धति नै आयुर्वेद भएको जिकिर गरे ।आधुनिक मेडिकल विज्ञानमा एलोपेथिक बिधि महँगो रहेको तर, आयुर्वेदिक पद्धति सस्तो र न्यून शुल्कमा सेवा प्राप्त गर्ने ठाउँ भएकाले राज्यले यसलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

‘राज्य भनेको गरिबका लागि हो, त्यसैले गरिबलाई निरोगी र स्वस्थ बनाउन सरकारले गरिबमुखी सेवालाई प्रभावकारी बनाउन प्राथमिकता दिनेछ,’ उनले बताए । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरका प्रमुख डा. ललिता पाण्डेका अनुसार विगतभन्दा दिनप्रतिदिन आयुर्वेदप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक औषधिले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो ।

विशेष गरी ग्यास्ट्रिक, हाडजोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघाखोकी, ज्वरोलगायत स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेका डा. पाण्डेको भनाइ छ । निरीक्षणमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रवक्ता तथा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल चिकित्सालय व्यवस्थापन समितिका पदाधिकारी, चिकित्सक लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*