बकैयामा आगलागीबाट २ करोड रुपैयाँको क्षति
हेटौंडा-पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बकैया–५, गरगरेमा शुक्रबार बिहान एक किराना पसलमा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आगलागीमा परी पसल सञ्चालक गम्भीर घाइते भएका छन् । स्थानीय लिलाराम जिम्बाको २ तल्ले पक्कीघरमा रहेको किराना पसलमा बिहान ७ः४५ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानअनुसार घर अगाडि बालेको दियोबाट पेट्रोलमा आगो सल्किँदा दुर्घटना भएको उनले बताए । पसल सञ्चालक जिम्बाले पेट्रोलको ड्रमबाट पेट्रोल खन्याउने क्रममा ड्रम पल्टिँदा आगो फैलिएको बताएको प्रवक्ता अर्यालले जानकारी दिएका छन् ।आगो निभाउने क्रममा ४५ वर्षीय लिलाराम जिम्बाको दुवै हात र खुट्टा जलेर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा तत्काल थप उपचारका लागि चुरेहिल अस्पतालमा भर्ना गरिएको प्रवक्ता अर्यालको भनाई छ ।
उनको शरीरको अगाडिको भाग ४० प्रतिशत जलेको र अवस्था मध्यम रहेकोले थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित वर्न अस्पतालमा रिफर गरिएको छ । इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोस्ट गरगरेबाट परिचालित प्रहरीटोली र हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको दमकल तथा स्थानीयवासीको संयुक्त प्रयासमा २ घण्टापछि आगो पूर्णरुपमा निभाइएको थियो ।
आगलागीबाट जिम्बाको दुईतले पक्की घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेको नगद १५ लाख रुपैयाँ, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका सामान जलेर नष्ट भएको थियो । आगलागीबाट बा.प्र.०३–००६ प १८९७ नम्बरको पल्सर मोटरसाइकल र सामान किन्न आएका स्थानीय नारायणबहादुर स्याङ्तानको ना ४९ प १३ नम्बरको पल्सर मोटरसाइकल जलेका छन् ।







