चट्याङ लागेर प्रजाको मृत्यु
हेटौंडा-मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ कमेरोपानीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१६ सानोआकाशधारा घरभई हाल बारा जिल्लाको निजगढ नगरपालिका–१३ बस्ने ३७ वर्षीय बुद्धबहादुर प्रजाको शुक्रबार राति करिब १०ः३० बजे चट्याङ लागेर मृत्यु भएको हो ।हेटौंडा–१५ कमेरोपानीस्थित धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसल अगाडि किनमेलका लागि आउने क्रममा अचानक परेको चट्याङ लागि प्रजाको घटनास्थलमा नै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरीउपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । घटनास्थल सुरक्षित राखी मुचुल्कालगायत थप अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए ।







