सञ्चालनको मोडालिटी नबन्दा धुलोदुध कारखाना परीक्षणमै सीमित
हेटौंडा-बागमती प्रदेश सरकारले सञ्चालनको मोडालिटी बनाउन नसक्दा धुलोदुध कारखाना परीक्षणको रुपमा मात्र सीमित भएको छ ।प्रदेश दुग्ध विकास बोर्डले सञ्चालनको कार्ययोजना तथा मोडालिटी तय गर्न नसक्दा ४७ करोडको लगानीमा स्थापना भएको कारखाना करिब डेढ वर्षयता परीक्षणकारुपमा मात्रै सञ्चालन हुँदै आएको छ । २०७७ मा निर्माण सुरुभई २०८० मंसिरबाट परीक्षण उत्पादन गरेको उद्योग कार्यविधि नबन्दा आधिकारिकरुपमा सञ्चालन हुन नसकेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले उद्योग सञ्चालनको कार्यविधि तयार गर्न सकेको छैन । विगत डेढ वर्षदेखि दुग्ध विकास संस्थान (डिडिसी)ले परीक्षणकारुपमा कारखाना सञ्चालन गर्दै आएको छ ।
यद्यपि, डिडिसीलाई कारखाना सञ्चालन गर्न दिने विषयमा मन्त्रालय र बोर्डले कुनै औपचारिक निर्णय गरेका छैनन् । सामान्य सहमतिका भरमा काम भइरहेको कर्मचारीहरु बताउँछन् । कारखाना सञ्चालनका लागि कार्यविधि निर्माणको काम अन्तिम तयारीमा पुगेको प्रदेश दुग्ध विकास बोर्ड, हेटौंडाका निर्देशक डा. रामप्रकाश श्रेष्ठको भनाइ छ । हाल कारखाना डिडिसीले परीक्षण सञ्चालन गरिरहेको भएपनि कारखानामा केही संरचना थप गरेर प्रतिस्पर्धाका आधारमा विभिन्न संघसंस्थालाई भाडामा दिने प्रदेश दुग्ध विकास बोर्डका निर्देशक डा. श्रेष्ठले बताए ।
‘कारखाना सञ्चालन गर्न कसलाई दिने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन । प्रतिस्पर्धात्मक आधारमा कारखाना भाडामा दिने हाम्रो तयारी हो,’ उनले भने, ‘झन्डै आधा अर्ब लगानीमा बनेको यो कारखानाको सञ्चालन कार्यविधि नबन्दा सबैतिर आलोचना भएको छ । कारखाना चलाउन चाहने संस्थालाई लिजमा दिनका लागि गतवर्ष अध्ययन भइसकेको छ, अब ढिला हुँदैन । कार्यविधि अन्तिमचरणमा पुगेको छ ।’ अब केही समयभित्रै धुलोदूध उद्योग पूर्णरुपमा सञ्चालन गर्नेगरी मन्त्रालयले गृहकार्य गरिरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलको दाबी छ ।
‘बागमती प्रदेश सरकारले लामो समय लगाएर निर्माण गरेको उद्योग परीक्षणका लागि भनेर डीडीसीलाई दिइएको रहेछ । तर, यसलाई पूर्णरुपमा सञ्चालन गर्न कार्यविधि बनाइरहेका छौँ’, मन्त्री पौडेलले भने, ‘यो उद्योगलाई हामी छिट्टै सञ्चालनमा ल्याउने तयारीमा छौँ । जसका लागि डीडीसीलाई नै दिने कि अन्य संस्थालाई भन्ने विषयमा छलफल चलिरहेको छ ।’ तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ पुस १६ गते शिलान्यास गरेको कारखाना निर्माण सम्पन्न भएपछि परीक्षण उत्पादनका लागि डेढ वर्षअघि दुग्ध विकास संस्थान (डिडिसी)लाई जिम्मा दिइएको थियो ।
डेढवर्षदेखि परीक्षण उत्पादन गर्दै आएको कारखानाले परीक्षणकालमै तीन सय ९९ मेट्रिकटन धुलोदुध उत्पादन गरेको छ । डिडिसीका निमित्त आयोजना प्रमुख अञ्जन अधिकारीले हालसम्म ४४ लाख लिटर दुध प्रशोधन गरी तीन सय ९९ मेट्रिकटन धुलोदुध र दुई सय मेट्रिकटन बटर उत्पादन गरेको जानकारी दिए । ‘हालसम्म ११ लाख लिटर दुध सहकारी तथा निजी संस्थाबाट संकलन गरिएको छ भने ३३ लाख लिटर दुध संस्थानकै संकलनबाट प्रशोधन गरिएको हो । उत्पादन सफल भएको छ, प्राविधिकरुपमा कुनै ठुलो समस्या देखिएको छैन,’ उनले भने । आयोजनाप्रमुख अधिकारीका अनुसार परीक्षणकालमै कारखाना राम्रोसँग चलेको छ तर, भण्डारण र प्याकेजिङ कक्ष, जेनेरेटरजस्ता संरचना थप्नुपर्ने आवश्यकता छ ।
यता प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेलले धुलोदूध उद्योग जति म चल्यो, उति किसानका लागि फाइदा हो भनेर बुझ्नुपर्ने बताउँछन् । किसानले उत्पादन गरेका दूध बिक्री गर्न नपाएर सडकमा पोख्नुपर्ने अवस्था नआओस् भनेर मात्र प्रदेश सरकारले धुलोदूध उद्योग स्थापना गरेको उनको भनाइ छ । तर, किसानलाई अहिले त्यस्तो समस्या नरहेकाले धुलोदूध उद्योग चलेन भनेर चिन्ता गर्नुपर्ने विषय नभएको जिकिर उनले गरे । उपाध्यक्ष पौडेलले भने, ‘किसानको दूध बजारमा जानु नै सबैभन्दा ठूलो उपलब्धि मान्नुपर्छ । दूध धेरै उत्पादन हुने समयमा दुग्ध सहकारी संस्थाहरुले किसानमार्फत् संकलन गरेको दूध बजारमा बिक्री भएन भने मात्र धुलोदूध बनाएर भण्डारण गर्ने हो । धुलोदूध उद्योग चलेन भनेर चिन्ता गर्न आवश्यक छैन ।’







