निजामती सेवा दिवस सम्पूर्ण राष्ट्रसेवकको साझा दिन : प्रमुखसचिव बराल
हेटौंडा-२२ औं निजामती सेवा दिवसको पूर्वसन्ध्यामा हेटौंडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालय परिसरमा शनिबार फलफूल तथा अलंकारिक बिरुवा रोपण गरिएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र वन मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रमुखसचिव भुपाल बरालको प्रमुखआतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुखसचिव बरालले निजामती सेवालाई सबै सार्वजनिक सेवाहरुको मार्गदर्शक सेवाको संज्ञा दिए । उनले निजामती सेवा दिवस केवल निजामती कर्मचारीको मात्र नभई सम्पूर्ण राष्ट्रसेवकको साझा दिवस भएको धारणा व्यक्त गरे । संसदको दुबै सदनबाट पारित हुने क्रममा रहेको निजामती कर्मचारी विधेयकले प्रादेशिक र स्थानीय तहका सेवालाई मार्गदर्शन गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए । ऐन आएपश्चात् निजामती क्षेत्रमा देखापर्ने सबै समस्या तत्काल समाधान नभए पनि, यसले नीतिगत पक्षलाई स्पष्ट पार्ने उनले दाबी गरे ।
त्यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले निजामती सेवा दिवसलाई आफूले गरेका कार्यको मूल्यांकन गर्ने अवसरको रुपमा लिनुपर्ने बताइन् । उनले समाजमा कर्मचारीप्रति नकारात्मक धारणा बन्नुमा कर्मचारीकै आचरण पनि एक कारण रहेको औंल्याइन् । उनले इमान्दारिता र जवाफदेहिताबाट मात्र सेवालाई सक्षम र प्रभावकारी बनाउन सकिने धारणा राखिन् । निजामती सेवामा जनउत्तरदायित्व, इमान्दारिता र जवाफदेहिताको आवश्यकतालाई प्रमुखता दिँदै उनले पारदर्शिता र कार्यक्षमता वृद्धि गर्न कर्मचारी स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिइन् । कर्मचारीले जनताको मनमा बस्ने गरी काम गर्नुपर्ने र सेवाप्रति समर्पित भई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियन मकवानपुरका सचिव बसन्त गौतमले प्राविधिक र प्रशासनिक क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनेगरेको गुनासो राखेका थिए । सो अवसरमा लिची, आँप, एभोकाडो लगायत विभिन्न जातका फलफूल तथा अलंकारिक बिरुवा रोपण गरिएको हो । वृक्षरोपण कार्यक्रममा प्रदेश प्रहरीप्रमुख अरुण पौडेल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीप्रवक्ता श्यामु अर्याल लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीकोे उपस्थिति थियो ।







