सामाजिक सञ्जालमा लागेको प्रतिवन्धविरुद्ध विरोध

साझाकुरा
२०८२ भाद्र २३, सोमबार ११:३९

हेटौंडा-नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीले सूचीकरण नभएका फेसबुकसहिहतका सामाजिक सञ्जाल सरकारले निष्क्रिय गरेको विरोधमा सडकमा प्रदर्शन गरेका छन् ।सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालहरु निष्क्रिय पारेको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा आइतबार उनीहरुले प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमा नियन्त्रण लाद्न खोज्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको भन्दै निर्णय फिर्ता लिन उनीहरुको माग छ । सोही मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई यही
भदौ १८ देखि निष्क्रिय पार्ने निर्णय गरेको थियो ।

सरकारको निर्णय कार्यान्वयनमा गइसकेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको परमादेशका आधारमा सामाजिक सञ्जाल निष्क्रिय बनाएको हो । सरकारको सोही निर्णयको सत्तारुढ राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका नेता र नागरिक समाजले समेत आलोचना गरिरहेका छन् । त्यसअघि पत्रकारमहासंघकापूर्वपदाधिकारीले विज्ञप्तिमार्फत पनि विरोध गरेका थिए । विज्ञप्तिमा भनिएको छ, ‘दर्ता नभएको बहानामा फेसबुक, एक्स, युट्युबलगायतका सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्ध पूर्णरुपमा अस्वीकार्य छ।’

महासंघका पूर्व पदाधिकारीले सामाजिक सञ्जालमा देखिएका समस्या समाधान गर्न संसद्बाट कानुन बनाएर व्यवस्थित नियमनको बाटो अपनाउन सकिने अवस्था हुँदाहुँदै सरकारले यस्तो कठोर र अलोकतान्त्रिक कदम चालेको भन्दै आपत्ति प्रकट गरेका छन् । यो कदमले विदेशमा रहेका नेपाली र उनीहरुको परिवारबीचको सम्पर्क तोडेको र बालबालिकाको सिकाइमा दीर्घकालीन असर पार्ने चिन्ता व्यक्त गरिएको छ । विरोध प्रदर्शनमा सहभागी हुन प्रेस तथा नागरिक स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गरिएको छ ।

उनीहरुले सरकारलाई बन्द गरिएका सामाजिक सञ्जाल तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न जोडदार माग गरेका छन् । सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरुको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समस्याको समाधान खोज्न पनि सुझाव दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*