राँगाले हान्दा बालक घाइते
हेटौंडा-पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरबजारमा राँगाले हान्दा एकजना बालक घाइते भएका छन् । शनिबार साँझ राँगाले अटोलाई ठक्कर दिँदा पल्टिन गई अटोमा सवार मकवानपुर मनहरी गाउँपालिका–७ बिजौना बस्ने ५ वर्षीय आशिष मोक्तान घाइते भएका हुन् । पूर्वपश्चिम सडक खण्डको लोथरबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ह १५६० न. अटो बाटो क्रसगर्ने क्रममा मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने ४० वर्षीय नीरज कुँवरको गोठमा बाँधीराखेको राँगो गोठबाट फुत्की अटोलाई ठक्कर दिएको प्रहरीचौकी सुनाचुरीले जनाएको छ ।
घाइते बालकको उपचारका लागि मनहरी अस्पताल लगिएकोमा सामान्य उपचारपश्चात् थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवनमा पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । घाइतेको निधार र बायाँ कुममा भित्रीचोट लागेको छ ।







