हेटौंडामा जेन–जीको प्रदर्शन शान्तिपूर्ण

गगन थापा आउने कार्यक्रम स्थगित
साझाकुरा
२०८२ भाद्र २४, मंगलवार ०८:३१

हेटौंडा-भ्रष्ट्राचार र सामाजिक सञ्जाल माथिको प्रतिबन्धको विरोधमा सोमबार हेटौंडामा पनि २८ वर्ष मुनिका जेन–जी युवाको समूहले प्रदर्शन गरेका छन् । स्वतःस्फूर्तरुपमा सडकमा उत्रिएका युवाको प्रदर्शन मकवानपुरमा शान्तिपूर्ण रह्यो । हेटौंडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको विरोध ¥याली सानोपोखरा, बुद्धचोक हुँदै बागमती प्रदेशसभा भवन परिसरसम्म पुगेको थियो । प्रदेशसभा भवन परिसरमा कोणसभामा परिणत भएको ¥यालीमा युवाले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला र हामी बोल्न चाहन्छौं, सरकारले सुन जस्ता नारा लगाएका थिए । प्रदर्शनकारीले भ्रष्टाचार अन्त्य, करको रकमको सही उपयोग, स्वदेशमै रोजगारी सिर्जना हुनुपर्ने, सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धविरुद्ध जोडदार आवाज उठाएका थिए ।

युवा प्रदर्शनलाई लक्षित गरी हेटौंडाको सुरक्षा व्यवस्था कडा बनाइएको थियोे । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले प्रदर्शन शान्तिपूर्ण रहेको र कुनै अप्रिय घटना नभएको जानकारी दिए । हेटौंडा उपमहानगरपालिका केन्द्रित प्रदर्शनमा हजारौं युवाको सहभागिता थियो । प्रदर्शनका क्रममा, युवाले हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामासँग भेटघाट गरेका थिए । उनीहरुले तीनै तहका सरकारले गरिब जनताका लागि प्रभावकारी कार्य नगरेको र नेताका छोराछोरीको आलिसान जीवनशैलीप्रति कडाविरोध जनाएका थिए । नगरप्रमुख लामाले सोमबार बिहान सामाजिक सञ्जालमा सामग्री राख्दै जेनजी पुस्ताका माग जायज रहेको बताएकी छन् ।

गगन थापा हेटौंडा आउने कार्यक्रम स्थगित

यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा हेटौंडा आउने कार्यक्रम स्थगित भएको छ । १ सय १२ औं वीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर–१ ‘ख’ ले आयोजना गर्ने भेलालाई सम्बोधन गर्न थापा आज मंगलबार हेटौंडा आउन लागेका थिए । तर, विशेष कारण भन्दै कार्यक्रम स्थगित गरिएको मकवानपुरको प्रदेशसभा क्षेत्र नम्बर १ ‘ख’ सभापति राजेश बानियाँले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*