प्रधानसेनापति सिग्देलले जेनजी युवासहित सबै पक्षसँग आज वार्ता गर्ने
हेटौंडा-आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिलाई नेपाली सेनाले बिहिबार बिहान सम्पर्कमा आउन भनेको छ ।जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजी युवाले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए । ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एक जना ग्रुपलिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’ बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए ।
नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलले पनि यसअघि राजसंस्था पुनस्र्थापना जनआन्दोलनको जनकमान्डर बनेका दुर्गा प्रसाईसँग अबको निकासको बारेमा छलफल गरेका थिए । प्रधानसेनापति सिग्देलले विभिन्न पक्षसँग छलफल गर्ने क्रममा प्रसाईसँग पनि निकासका विषयमा वार्ता भएको सैनिक स्रोतले जनाएको हो । बिहीबार बिहान ८ बजे फेरि वार्ता गर्ने र छिट्टै देशले नयाँ निकास पाउने जनाइएको छ । विभिन्न छलफलका क्रममा अहिलेसम्म नयाँ सरकार गठनको प्रक्रिया र त्यसको नेतृत्वको बारेमा सहमति कायम भइसकेको छैन ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा बढी छलफल भएपनि प्रधान सेनापतिले काठमाडौंका मेयर बालेन साहलाई नेतृत्व गरेर देश सम्हाल्न प्रस्ताव गरेको स्रोतले जनाएको हो । तर, मेयर बालेन इच्छुक नभएपछि पूर्वप्रधानन्यायाधीश कार्कीमा बढी छलफल भएको हो । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले पनि अन्तरिम सरकारको नेतृत्व गर्ने इच्छा गरेर प्रधानसेनापति सिग्देलसँग छलफल भएको स्रोतले जनाएको छ । तर, बाहिर भेला भएर युवा समूहले त्यसविरुद्ध नाराबाजी गरेका थिए । कतिपयले काठमाडौं महानगरपालिका मेयर बालेन साहसहितका नामहरु लिइरहेका छन् ।







