आन्दोलनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, घाइते एक हजार नाघे

साझाकुरा
२०८२ भाद्र २६, बिहीबार १२:२८

हेटौंडा-जेनजी आन्दोलनका क्रममा हिंसात्मक प्रदर्शनमा परी हालसम्म ३० जनाको मृत्यु भएको छ भने एक हजार घाइतेको उपचार भइरहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उनले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताए । यो संख्या जेनजी पुस्ताको आन्दोलका क्रममा भएको हिंसात्मक प्रदर्शनमा भएको घटनाको हो ।

निजामती कर्मचारी अस्पतालमा छ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौं मेडिकल कलेज सिनामंगलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको निधन भएको छ ।

यस्तै अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । ७१९ जना उपचारपश्चात् घर फर्किसकेका छन् । सचिव डा. देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौं मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । सबैभन्दा धेरै उपचार ४३६ जना निजामती कर्मचारी अस्पताल, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जना घाइतेको उपचार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*