देशभर कफ्र्यू आदेश जारी

साझाकुरा
२०८२ भाद्र २६, बिहीबार १२:३३

हेटौंडा-नेपाली सेनाले देशभर कफ्र्यू आदेश जारी गरेको छ । देशको समग्र शान्तिसुरक्षा अवस्थालाई मध्यनजर गरी कफ्र्यू आदेश जारी भएको सेनाले जनाएको छ । बुधबारको लागि साँझ ५ बजेसम्म कफ्र्यूको समय निर्धारण गरिएको थियो । सेनाको विज्ञप्तिअनुसार बुधबार साँझ ५ बजेपछि पनि कफ्र्यू जारी रहने र तत्पश्चात् बिहिबार बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी हुने जानकारी गराइएको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ ।

व्यक्तिलक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलाप गरिरहेको र गर्नसक्ने सम्भावना रहेको सेनाले जनाएको छ । अपराधजन्य गतिविधि नियन्त्रणको प्रयासमा सहकार्यका लागि सबैलाई नेपाली सेनाले आह्वान पनि गरेको छ । आन्दोलनको नाममा हुने कुनैपनि प्रदर्शन, तोडफोट, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधकारुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने नेपाली सेनाले चेतावनी दिएको छ । निषेधाज्ञा तथा कफ्र्यूको दौरान अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन) सञ्चालन हुनेछन् ।

आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न सर्वसाधारणलाई सेनाले अनुरोध गरेको छ । यसक्रममा सम्पूर्ण अवकाशप्राप्त सैनिकलगायत सुरक्षाकर्मीहरु, सबै सेवाका राष्ट्रसेवकहरु, सञ्चारकर्मी तथा आमनागरिकमा अफवाहको पछाडि नलागी आधिकारिक सूचनामात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न नेपाली सेनाले अनुरोध गरेको छ । राष्ट्रिय एकता र सामाजिक सदभावलाई कायम राख्दै जनजीवन सामान्य बनाइराख्ने दायित्वलाई निरन्तरता दिने विश्वास सेनाले लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*