सुधारगृहमा बालबालिकाको मृत्यु भएकोप्रति राष्ट्रिय अभियानको संवेदना

साझाकुरा
२०८२ भाद्र २६, बिहीबार १२:३९

हेटौंडा-जेनजी आन्दोलनका क्रममा बालसुधारगृहमा रहेका एक बालिकासहित अन्य बालबालिकाको मृत्यु भएको घटनाप्रति बालअधिकारका लागि राष्ट्रिय अभियान–नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।मृतक बालिकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै अभियानले शोकाकुल परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ । घाइते भएका बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । अभियानले बालसुधारगृहमा रहेका बालबालिकाको जीवनसुरक्षामा चुनौती रहेको भन्दै यसतर्फ गम्भीर ध्यान दिन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ । ‘हाल अन्य बालसुधारगृहमा यस्तै जोखिम रहेको हुँदा नेपाल सरकार तथा सम्बन्धित तहले तत्कालीनरुपमा सुरक्षाको पक्का व्यवस्था मिलाउन जरुरी छ,’ अपिलपत्रमा उल्लेख छ ।

यस्तै, नेपालसहित विदेशमा रहेका बालसंगठन तथा सरोकारवालालाई समेत बालबालिकाको सुरक्षित आवास र संरक्षणमा जागरुक रहन अपिल गरिएको छ । अभियानले असुरक्षित अवस्थामा रहेका बालबालिकालाई सुरक्षित आवास र संरक्षण उपलब्ध गराउन सबै पक्षलाई सामूहिकरुपमा काम गर्न आह्वान गरेको छ । यसैबीच, अभियानले बालबालिकाको संरक्षणमा प्रत्यक्ष संलग्न संस्था तथा निकायलाई पनि आवश्यक समन्वय र सहकार्य गर्न अनुरोध गरेको छ । हाल काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलसँगको समन्वयमा घाइते बालबालिकाको उपचार, यातायात, कुरुवालाई खानपानसहितको व्यवस्था मिलाउने कार्य भइरहेको छ ।

कसैलाई यस्तो खालको समस्या परेमा वा कुनै बालगृहमा खाना, सुरक्षित आवास र सुरक्षा चुनौती रहेमा तत्काल समन्वयका लागि अभियानका संघीय समन्वय समितिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । हालसम्म के कति बालबालिका घाइते भएको भन्ने विषयमा यकिन विवरण आउन नसकेको अभियानले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*