संवैधानिक प्रक्रियाबाटै ‘निकास’को पक्षमा प्रमुख राजनीतिक दल
हेटौंडा–संवैधानिक प्रक्रियाबाटै निकास दिनुपर्ने पक्षमा प्रमुख राजनीतिक दलहरु खुलेका छन् । भूमिगत जस्तै अवस्थामा रहेका प्रमुख राजनीतिक दल र तिनका नेताहरु भने विस्तारै संविधान र व्यवस्थाको पक्षमा खुल्न थालेका हुन् । यसैक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधान र संवैधानिक प्रक्रियाबाटै निकास खोज्नुपर्नेमा मत प्रकट गरेका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्नसक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् । ‘हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्रमात्रै हो’, प्रचण्डले भनेका छन्, ‘जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै । उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौँ ।’
प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो ठहर छ कैयन् कमजोरीका बाबजुद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो । त्यसैले अहिलेको संक्रमणकालीन अवस्थाको निकाससमेत संविधानसम्मत तरिकाले हुनुपर्दछ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पु¥याउने छ ।’ यसैगरी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत्रुपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट रहेको बताएको छ ।
एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवापुस्ताका सरोकारलाई सम्बोधन गरिनुपर्नेमा जोड दिइएको छ । ‘यसका लागि संविधानका मर्म अनुरुप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ’, एमालेले भनेको छ । एमालेले यस्तो विषम परिस्थितिमा संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहले आआफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेल्न आग्रह गरेको छ ।
‘स्थानीय तहहरुले निर्वाधरुपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ । संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दललाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौँ’, एमालेले भनेको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विधिविहीनताले थप अराजकता निम्त्याउने भन्दै समस्या सम्बोधनका लागि राष्ट्रपतिले पहल गर्नुपर्ने बताएका छन् ।
उनीहरुले त्यसका लागि वार्ताका क्रममा राष्ट्रपति र जेनजी पक्षलाई देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस् भनेर आग्रह गरेका छन् । ‘संविधान र लोकतान्त्रिक बाटोबाटै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ’, महामन्त्रीद्वयले भनेका छन् । उनीहरुले जेनजी पुस्ताको भावना बमोजिम वार्ता निष्कर्षमा पुर्याउन आग्रह गर्दै त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशको पछिल्लो अवस्थाबारे विश्लेषणकै क्रममा रहेपनि विधिको शासन र कानुनी सर्वोच्चता तथा मानवअधिकारप्रति प्रतिवद्धता जनाएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा नयाँ राजनीतिक कोर्षबारे पार्टीका धारणा छिट्टै सार्वजनिक गर्ने उल्लेख छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले देश अत्यन्त ठुलो संकट र अन्यौलताको भूमरीमा फसेकाले यो संकटबाट उठ्न सम्पूर्ण आग्रह पूर्वाग्रह त्यागेर राष्ट्रिय एकता कायम र राष्ट्र निर्माणको संकल्प गर्न जरुरी भएको बताएका छन् ।
बिहीबार एक वक्तव्य जारी गर्दै नेता ज्वालाले जेनजी आन्दोलनकारी लागायत सबै मिलेर वर्तमान समस्या समाधान गरी राष्ट्र, राष्ट्रियता, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै मुलुकवासीको कर्तव्य रहेको स्मरण गराएका छन् । ‘राष्ट्रले ठुलो क्षति व्यहोरेको छ । नवयुवाको रगत बगेको छ’, उनले भनेका छन्, ‘अव प्राणभन्दा प्यारो हाम्रो देश बचाऔँ’ ज्वालाले जेनजी पुस्ताको विद्रोहको दुरुपयोग हुन सक्ने खतराप्रति सबै सतर्क हुनुपर्नेमा जोड दिँदै देशलाई गैरसंवैधानिक अँध्यारो सुरुङतर्फ धकेलिनबाट जोगाउनुपर्नेमा सचेत गराएका छन् ।







