निषेधाज्ञा हटेसँगै मकवानपुरमा जनजीवन सामान्य बन्दै

साझाकुरा
२०८२ भाद्र २९, आईतवार ११:३६

हेटौंडा- अन्तरिम सरकार गठन भएसँगै हेटौंडामा पनि आमनागरिकको जनजीवन सामान्य बन्दै गएको छ । शनिवार बिहानबाट हेटौंडामा जनजीवन सामान्य बन्दै गएको हो । सवारीसाधन चल्न थालेका छन् भने बजार र पसल आंशिकरुपमा खुलेका छन् । आन्दोलनपछि मकवानपुरमा लगाइको कफ्र्यु र निषेधाज्ञा हटेको छ । शान्तिसुरक्षाको अवस्था सामान्य रहेको छ । दैनिक जीवनयापनका लागि अत्यावश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजारमा निस्किन थालेका छन् । यसका साथै राजमार्गमा सार्वजनिक यातायात पनि सुचारु भएको छ । लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएसँगै यात्रुहरु गन्तव्यमा निस्किएका छन् ।

काठमाडौं–हेटौंडा जस्ता छोटो दूरीका रुटहरुमा सुमो, इभि भ्यान लगायत सवारीसाधन आंशिक सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार बिहान सूचना जारी गर्दै बिहान १० बजेबाट निषेधाज्ञा र कफ्र्यु हटाइएको जानकारी दिएको छ । शनिवार बिहानैबाट हेटौंडा बजारमा आमसर्वसाधारणको चहलपहल बढेको थियो भने सवारी साधनगुड्न थालेका थिए । निषेधाज्ञा र कफ्र्यु हटाइएसँगै छोटा तथा लामा दूरीका सवारी साधन पनि गुड्न थालेका छन् ।

आन्दोलनको क्रममा प्रदेशको राजधानीमा रहेको करिब तीन दर्जन सरकारी कार्यालय र एकदर्जन निजी सम्पत्तिमा तोडफोड तथा आगजनी भएको थियो । क्षतिको विवरण पूर्णरुपमा आइसकेको छैन भने सरकारी तथा निजी व्यवसायीले क्षति भएको ठाउँमा सरसफाइ सुरु गरेका छन् । यता मकवानपुर प्रहरीले आन्दोलनको क्रममा लुटिएको सामान खोज्न सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*