आन्दोलनमा लुटपाट भएका सामान बरामद गर्दै मकवानपुर प्रहरी
हेटौंडा-भदौ २४ गते जेनजी आन्दोलनका क्रममा हेटौंडामा लुटपाट घटनामा संलग्नमाथि प्रहरीले कारबाही तीव्र पारेको छ । सोहीक्रममा शनिबार बिहान प्रहरीले हेटौंडा उपमहानगरपालिका–४, कर्राबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट चोरी गरिएको दुई ट्रक सामान बरामद गरेको छ । आन्दोलनको फाइदा उठाउँदै विभिन्न अवाञ्छित व्यक्ति र समूहले सरकारी तथा सार्वजनिक कार्यालय र व्यक्तिका घर तथा व्यवसायीक प्रतिष्ठानमा पसेर लुटपाट तथा आगजनी गरेका थिए । सोहीक्रममा हेटौंडा–१० स्थित स्वास्थ्य मन्त्रालयबाट दराज, टेबल, कुर्सी, कम्प्युटरलगायत सामग्री आन्दोलनकै क्रममा लुटपाट गरिएको थियो ।
ती सामानहरु स्थानीयको सूचना र सहयोगमा वडा प्रहरी कार्यालय सानोपोखराले कर्राबाट बरामद गरेको हो । प्रहरीका अनुसार, लुटपाटमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना भएको राति दुईवटा ट्रकमा सामान लोड गरेर कर्रातर्फ लगिएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । सोही आधारमा खोजतलास गर्ने क्रममा ती सामाग्री फेलापरेको मकवानपुर प्रहरीले जनाएको छ ।
यसअघि शुक्रबार मात्र मकवानपुर प्रहरीले आमसर्वसाधारणलाई अपिल गर्दै लुटपाटमा संलग्नलाई नजागाउन र लुटिएको सामग्री वा भिडियो प्रमाण तत्काल प्रहरीलाई उपलब्ध गराउन आग्रह गरेको थियो । मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले लुटपाटमा संलग्न कसैलाई पनि नछोडिने भन्दै घटनामा संलग्न जो कोहीलाई पनिअनुन्धानको दायरामा ल्याउने र दोषी ठहरिए कारवाही गर्ने बताए । उनका अनुसार, शनिवार बरामद सामग्री सुरक्षित गरिएको र बाँकी सामान खोजी भइरहेको छ । कर्राका स्थानीय निरजसिंह ठकुरीले समुदायकै सक्रियतामा लुटपाटमा संलग्नको निगरानी गरेर बरामद सामग्री प्रहरीलाई बुझाउन सहयोग गरिएको बताए ।







