भाटभटेनीको सरसफाईमा जुटे कर्मचारी
हेटौंडा- जेनजी आन्दोलनको क्रममा भएको आगजनीबाट ध्वस्त बनेको हेटौंडा–१, चौकीटोलस्थित भाटभटेनी सुपरमार्केटको सरसफाईमा कर्मचारीहरु नै जुटेका छन् ।गत भदौ २४ गते आन्दोलनका क्रममा उत्तेजित समूहले भाटभटेनीमा आगो लगाएर ध्वस्त पार्नुका साथै त्यहाँ रहेका सामान लुटेर लगेका थिए । आफूहरुलाई काम र रोजगारी प्रदान गर्ने संस्थालाई पुनः उकास्नका लागि कर्मचारीहरु सुपरमार्केटको सरसफाइमा जुटेका हुन् । सरसफाइ कार्यक्रम १० दिनसम्म चल्ने ब्रान्च म्यानेजर एन्जु मगरले जानकारी दिए ।
सुपरमार्केटमा भएको आगजनीबाट भएको क्षतिको मूल्यांकनको कार्य अझै जारी रहेको उनले बताए । भाटभटेनीले आफ्नो २० औं स्टोरको रुपमा २०७८ साल मंसिर महिनामा हेटौंडामा सेवा शुभारम्भ गरेको थियो । साढे १४ कठ्ठा क्षेत्रफलमा फैलिएको यो स्टोरमा दुईवटा बेसमेन्ट र आठ तलाको भवन रहेको थियो । आगजनीमा भवन पूर्णरुपमा जलेको छ । भाटभटेनीले मकवानपुर जिल्लाका १ सय ५९ जनालाई रोजगारी प्रदान गरिरहेको थियो ।







