दलको संयुक्त विज्ञप्तिः संसद् विघटन तत्काल फिर्ता लिइयोस्

साझाकुरा
२०८२ भाद्र २९, आईतवार ११:५५

हेटौंडा- प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन ८ राजनीतिक दलले आग्रह गरेका छन् ।संसदमा प्रतिनिधित्व गरेका नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले सामूहिक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिई तत्काल संसद बैठक बोलाउन माग गरेका हुन् । ‘नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम सुशासनको माग राखेर भएको आन्दोलनको मर्मविपरीत अलोकतान्त्रिक तथा असंवैधानिक ढंगले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभाको विघटन गरिएको छ ।

लोकतान्त्रिक र कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र कानुन बमोजिम हुनुपर्ने र सबै निकायहरु संविधान र कानुनबमोजिम सञ्चालन हुनुपर्दछ भन्ने कुरामा हाम्रो अटल विश्वास रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ । नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरीतका कदमलाई कुनैपनि मूल्यमा स्वीकार गर्न नसकिने आठ राजनीतिक दलका प्रमुख सचेतकहरुले बताएका छन् ।

जननिर्वाचित संस्था प्रतिनिधिसभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्दान्तहरु एवम् नेपालको संवैधानिक परम्परा विपरीत रहेको उनीहरुको ठहर छ । ‘यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ । तसर्थ, प्रतिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्तालिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै संबोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*