श्रीमानलाई बाँधेर २ महिनाकी सुत्केरीमाथि बलात्कार

साझाकुरा
२०८२ भाद्र ३०, सोमबार ११:४९

हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ ।राक्सिराङ गाउँपालिका अनुसार २७ भदौ शुक्रबार बेलुका राक्सिराङ गाउँपालिका–१ इन्द्रुङमा करिब २४ वर्षीया महिलामाथि बलात्कार भएको हो । आर्थिक अवस्था कमजोर भएको परिवारकी उनलाई एक अपरिचित व्यक्ति घरमै पुगेर बलात्कार गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । ‘आफूमाथि बलात्कार गरेको भनेर पीडित महिलाले हामीलाई भनेकी हुन्,’ अध्यक्ष मल्लले भने । प्रष्टसँग बोल्नसमेत नसक्ने उनका श्रीमानलाई बाँधेर श्रीमतीलाई बलात्कार गरेको अध्यक्ष मल्लले बताए ।

पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी महिलासहित परिवार प्लास्टिकले ओत लगाइएको छाप्रोमा बस्दै आएको छ । आर्थिक अभावले खानेकुरासमेत नभएकोले सुत्केरी हुँदा गाउँपालिकाले आर्थिक सहित पौष्टिकआहार सहयोग पनि गरेको थियो । पीडित महिलाको महिला तथा बालबालिका सेवा केन्द्रमा परामर्श भइरहेको अध्यक्ष मल्लले बताए । घटनापछि स्थानीय प्रहरीलाई खबर गर्दा प्रहरी पनि घटनास्थल जान डराएको उनले बताए । ‘पीडितको घर जंगलको एकान्तमा छ । तर, पनि गाउँमा अशान्त थिएन । प्रहरी जान डरायो । त्यसपछि हामीले नै उहाँहरुलाई हेटौंडा लगेका हौं’, उनले भने ।

मल्लकाअनुसार पीडित चेपाङ परिवारलाई गत भदौ १६ गते मात्रै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थायी घर बनाउनका लागि दुई लाख रुपैयाँ सहयोग गरेका थिए भने, पालिकाले सुत्केरी खाद्यान्न र लत्ताकपडा वितरण गरेको थियो । सुत्केरी श्रीमतीलाई खुवाउने कुरा पनि केही नभएको र बस्ने घर पनि नभई झुप्रोमा बस्दै आएको थाहा पाएपछि राक्सिराङ गाउँपालिका र नेपाली काँग्रेस राक्सिराङ गाउँपालिकाको सिफारिसमा बानियाँले व्यक्तिगत खर्चमै घर निर्माण गरिदिने घोषणा गर्दै काम थालनी गर्न निर्देशन दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*