नगर उपप्रमुख बानियाँमाथि कुटपिट, नगरप्रमुखले माफी मागिन्

साझाकुरा
२०८२ भाद्र ३०, सोमबार ११:५५

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको नगरउपप्रमुख राजेश बानियाँमाथि कुटपिट भएको छ । हेटौंडा उपमहानगरपालिका–२ निवासी स्थानीय पुरुषोत्तम खड्काले उपप्रमुख बानियाँमाथि कुटपिटगरेका हुन् ।आइतबार बिहान उपमेयरमाथि व्यक्तिगत विवादका कारण कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्काले बताए ।

‘व्यक्तिगत विवादले हातपात भएको भनिएको छ,’ एसपी खड्काले भने, ‘स्थानीय पुरुषोत्तमलाई नियन्त्रणमा लिएका छौं ।’ प्रहरीप्रमुख खड्काले दिएकोजानकारीअनुसार आक्रमणबाट उपप्रमुख बानियाँलाई सामान्य चोट लागेको छ । आक्रमणको कारण खुल्न बाँकी रहेको छ भने प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । उपप्रमुख बानियाँ २०७९ को स्थानीय चुनावमा नेपाली कांग्रेसबाट नगरउपप्रमुखमा विजयी भएका थिए ।

नगरप्रमुखले मागिन् माफी

हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले विद्यार्थीप्रतिराखेको अभिव्यक्तिका कारण सार्वजनिक माफी मागेकी छन् ।भदौ २३ गते जेनजी आन्दोलनका क्रममा विद्यार्थीले गुनासो राख्न उपमहानगरपालिकामा पुग्दा नगरप्रमुख लामाले दिएको प्रतिक्रिया विवादित बनेपछि उनले आइतबार विज्ञप्ति जारी गर्दै माफी मागेकी हुन् । ‘विद्यार्थीभाइबहिनीहरुको मन दुखाउने कुनै उद्देश्य मेरो थिएन । तर, मेरो शब्द र शैलीका कारण मनमा चोट पुगेको रहेछ भने माफी चाहन्छु,’ नगरप्रमुख लामाले विज्ञप्तिमा भनेकी छन् । उनले हेटौंडा उपमहानगरपालिका विद्यार्थीहरुको पक्षमा सधैं खडा रहने स्पष्ट पार्दै शैक्षिक, सामाजिक र सिर्जनात्मक अभियानमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएकी छन् ।

लामाले महिलाप्रति, जनजाति समुदायप्रति र विविधतालाई सम्मान गर्ने आफ्नो अडान दोहो¥याउँदै, विगतका कमजोरी आत्मसात गरेर अघि बढ्ने बताइन् । ‘विद्यार्थीले उठाएका मुद्दा र माग सम्बोधन गर्नतर्फ संवेदनशीलतापूर्वक लाग्नेछु,’ उनले भनिन्, ‘मधेश प्रदेशबाट अध्ययन गर्ने भाइ बहिनीहरुलाई मैले विभेद गर्ने सवाल नै हुँदैन ।’ यस्तै, भदौ २४ गते मधेशका विद्यार्थीहरु लामाबाट विभेद भएको भन्दै आन्दोलित भएका थिए । उनीहरुले नगरप्रमुख लामाले माफी माग्नुपर्ने माग राख्दै हेटौंडा उपमहानगरपालिका गेट अगाडि प्रदर्शन गरेका थिए । सोही दिन नगरप्रमुख लामाको घरमा आगजनी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*