फागुन २१ को निर्वाचनबारे छलफलमा जुट्यो निर्वाचन आयोग

साझाकुरा
२०८२ भाद्र ३१, मंगलवार १२:१५

हेटौंडा- निर्वाचन आयोग आगामी फागुन २१ गते हुनेगरी तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीबारे छलफलमा जुटेको छ ।हालसम्म गृहमन्त्रालयले निर्वाचनको मितिबारे निर्वाचन आयोगलाई औपचारिकरुपमा जानकारी गराएको छैन । तथापि, आयोगले मतदाता संकलन गर्ने लगायतका विषयमा भने आयोगले छलफल सुरु गरिसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । ‘निर्वाचनको मिति राष्ट्रियरुपमा घोषणा भएको विषय हो । राष्ट्रिय रुपमा घोषणा भएकोले यो विषयलाई स्वतः जानकारीमा लिएर छलफल सुरु गरिएको छ,’ घिमिरे भन्छन्, ‘मतदाता नामावली कसरी संकलन गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरेका छन् । यो घोषणापछि निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने भनिएको उपनिर्वाचन रद्द गरेको छ । यो क्षेत्रमा आगामी कातिक १७ गते उपनिर्वाचन गर्ने तय भएको थियो । मनाङको प्रदेशसभा क्षेत्र २ मा भने कात्तिक १७ मै उपनिर्वाचन हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी घिमिरेले भनेका छन्, ‘प्रदेशको हकमा अन्यथा निर्णय नभएकोले केही बोलिरहनु परेन । मनाङको प्रदेशसभा क्षेत्र २ मा कात्तिक १७ मै उपनिर्वाचन हुन्छ ।’ २०७९ मंसिर ४ मा सम्पन्न प्रदेशसभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेशसभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) निर्वाचित भएका थिए । ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो ।

यही मुद्दामा सर्वोच्चले गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा पदमा बस्न मनाङे अयोग्य रहेको फैसला गरेको थियो । त्यसयता मनाङ प्रदेशसभा क्षेत्र २ रिक्त छ । प्रदेशसभाअन्र्तगत् खाली रहेको स्थानमा उपनिर्वाचन गर्ने र आगामी फागुनमा हुने आम निर्वाचनको तयारी पनि अगाडि बढाउने गरी आयोग छलफलमा जुटेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*