मानवअधिकार आयोगको नौ बुँदे आह्वान

साझाकुरा
२०८२ भाद्र ३१, मंगलवार १२:१७

हेटौंडा-राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको शवपरीक्षण गर्नुपर्ने सहित नौ बुँदे आह्वान गरेको छ ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा मृत्यु भएकाहरुको परीक्षण, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायत कार्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख छ । ‘देश, जनता, लोकतन्त्र, मानवअधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकार भएकाहरुको सहभागितामा आगामी कार्यहरु अगाडि बढाउनु जरुरी छ’, विज्ञप्तिमा भनिएको छ, ‘अन्यौलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पु¥याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्नुपर्छ ।’

आफ्ना अभिव्यक्तिहरु सार्वजनिक गर्दा अरुको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्प्रेषण गर्न, द्वन्द्व र हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन र आफ्ना मागहरु लोकतान्त्रिक विधि र प्रक्रियाअनुरुप शिष्टतापूर्वक राख्न आयोगले आग्रह गरेको छ । विकसित परिस्थितिमा आमनागरिकको मानवअधिकारको उपभोगमा आइपर्ने अवरोध पहिचान गरी त्यस्ता अवरोध हटाउन प्रभावकारी कार्य गर्नुपर्ने र संकटको अवस्थामा हुनसक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गर्न आयोगको आग्रह छ ।

दैनिक उपभोग्य सामग्री र सेवालाई सहजरुपले सञ्चालन गर्ने आवतजावतलाई सहज बनाउनुपर्नेमा जोड दिएको छ । ‘प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षति विवरण संकलन गरी भौतिक पुनर्निर्माण र सेवाप्रवाहमा जोड दिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘संकटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै संघसंस्था र नागरिक समाजले जिम्मेवार नागरिकको दायित्व पूरा गर्नुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*