जेनजी युवाको प्रदर्शन : हेटौंडा उपमहानगरको ११ गाडी, २१ मोटरसाइकल जल्यो
हेटौंडा-जेनजी युवाहरुको प्रर्दशनको क्रममा हेटौंडा उपमहानगरपालिकाको भवन तथा सवारी साधनमा ठूलो क्षति भएको छ । प्रदर्शनकारीले भदौ २४ गते गरेको तोडफोड र आगजनीले पालिकामा ठूलो क्षति भएको छ । प्रदर्शनकारीले हेटौंडा उपमहानगरपालिका परिसरमा रहेका साना ठूला आधा दर्जन भवन र दुई दर्जनभन्दा धेरै सवारीसाधनमा आगजनी गरेर क्षति पु¥याएका छन् । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले आन्दोलनको क्रममा उपमहानगर पालिकाको भवनसहित ११ वटा गाडी र २१ वटा मोटरसाइकल जलेर नष्ट भएको जानकारी दिए । ‘जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते केही भएको थिएन । दोस्रो दिनको आन्दोलनको सुरुवातमा पनि जेनजी युवा उपमहानगर अगाडि आएर भाषण गरेर आन्दोलनको सुरुवात गरेका थिए’, गौतमले भने, ‘दोस्रो दिनको आन्दोलनमा पनि ती युवाले उपमहानगरपालिकामा तोडफोड गर्नु हुँदैन भनेर फर्किएका थिए ।’
तर, जेनजी भन्दा बाहिरका युवा आएर दोस्रोपटक तोडफोड सुरु गर्दा पनि जेनजीका युवाले फर्काएर पठाएका थिए । तेस्रोपटकको आक्रमणमा भने ती व्यक्तिहरुले ढुंगामुढा र आगजनी गरेका हुन् । जेनजी प्रदर्शनीमा अराजक समूहले उपमहानगरका महत्वपूर्ण कागजात जलाएर खरानी बनाइदिएपछि कसरी सञ्चालन गर्ने चुनौती थपिदै गएको छ । यद्यपी अहिले उपमहानगरका सरसफाइकर्मीले परिसर वरपरसरसफाइका काम गरिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत गौतमका अनुसार उपमहानगरको राजश्व महाशाखा, न्यायिक समितिको पूर्वाधार, स्वास्थ्य शाखा र सामाजिक विकास महाशाखा पूर्णरुपमा ध्वस्त भएको छ ।
उपमहानगरप्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँको कार्यकक्षमा तोडफोड गर्नुका साथै आवश्यक कागजात, कम्प्युटर टेलिफोन फर्निचर तोडफोड गरी जलाइएको छ । गौतमका अनुसार उपमहानगरको १९ वटा वडामध्ये ६ वटा वडा पूर्णरुपमा क्षति पुगेको छ । उपमहानगरका ३, ४, १०, ११, १५ र १९ नम्बर वडा पूर्णरुपमा क्षति भएका छन् भने १३ नम्बर वडामा तोडफोड भएको छ । उनका अनुसार शनिबार हेटौंडा उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिनाको नेतृत्वमा क्षतिको विवरण संकलन गर्न समिति बनेको छ ।
उपमहानगरको भवनमा आगो लगाउने र तोडफोड गर्नेहरुको सामाजिक सज्जालमा भिडियोहरु सुरक्षित रहेको भन्दै कारवाहीको दायरमा सम्बन्धित निकायमा पठाउने तयारी भईरहेको उनले बताए । चाँडो भन्दा चाँडो उपमहानगरवासीलाई भवनवाटै सेवा दिनका लागि तयारी गरिरहेको उनले जानकारी दिए । तत्कालका लागि आवश्यक कम्युटर र फर्निचरको व्यवस्था गरेर सोमबारदेखि सेवा सुरु गर्न लागिपरेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए । जेनजी पुस्ताले सुशासनको पक्षमा आन्दोलन गरेको भन्दै उपमहानगरबाट दिने सेवाप्रवाहमा सुधार गर्दै जाने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।







