हेटौंडाको गुन्द्रुक विदेशसम्म, गुन्द्रुककै कमाइबाट परिवार धान्दै

साझाकुरा
२०८२ भाद्र ३१, मंगलवार १२:३०

हेटौंडा- हेटौंडा–१२ मा रहेको कञ्चनजंघा कृषि सहकारीमा आबद्ध महिलाको सामूहिक प्रयास र मेहनतले उत्पादन गरेको गुन्द्रुकले स्वदेशदेखि विदेशसम्म राम्रो बजार पाएको छ । गुन्द्रुक उत्पादनले सहकारीमा आवद्ध महिलालाई आर्थिक रुपमा सबल बनाउनुका साथै हेटौंडालाई गुन्द्रुक उत्पादनको प्रमुख केन्द्रकारुपमा स्थापित गरिरहेको छ । हेटौंडा उपमहानगरपालिकाबाट प्राप्त बीउपुँजीको सहयोगमा १५ कठ्ठा जग्गा भाडामा लिएर सागखेती सुरु गरिएको थियो । यसबाट उत्पादन गरिएको गुन्द्रुुकले उत्कृष्ट बजार पाउन थालेपछि माग धान्न गाह्रो भएको सहकारीकी अध्यक्ष चिनीमाया गुरुङले बताइन् । उनका अनुसार, यहाँ उत्पादित गुन्द्रुक नेपालका प्रमुख सहर काठमाडौँ, पोखरा मात्र नभई युरोप, अस्ट्रेलिया, क्यानडा जस्ता मुलुकमा निर्यात हुने गरेको छ ।

माग धेरै भएपछि अहिले सागखेतीको लागि ३० कठ्ठा जमिन भाडामा लिइएको सहकारीकी कोषाध्यक्ष श्रेया गुरुङले बताइन् । एक सिजनमा मात्र साग उत्पादन हुने भएकाले अन्य समयमा मकै, धान जस्ता अन्नबाली लगाएर अतिरिक्त आम्दानी लिइने गरिएको छ । माग निरन्तर बढ्दै गएकाले सहकारीले यसवर्ष १ सय ५० घरधुरीलाई सागको विरुवा वितरण गर्ने योजना बनाएको छ ।

गुन्द्रुकसँगै सहकारीले भटमास मिसाएर सुक्खा अचार उत्पादन गर्ने काम पनि थालेको छ । सहकारीमार्फत महिलाले गुन्द्रुक सुकाउने, प्याक गर्ने र लेबलिङ गर्ने जस्ता कार्य सामूहिकरुपमा गर्दछन् । पहिले घरखर्च चलाउन पनि मुस्किल हुने अवस्थामा रहेका महिला अहिले गुन्द्रुककै कमाइबाट परिवार धान्न र छोराछोरीको पढाइ खाजाखर्च जोहो गर्न सक्षम भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने अभियान अन्तर्गत गुन्द्रुक उत्पादनलाई विशेष प्राथमिकता दिएको छ । नगरप्रमुख मीनाकुमारी लामाले गुन्द्रुक हेटौंडाको पहिचान बन्दै गएको बताउँदै वडानम्बर १४ मा पनि व्यावसायिकरुपमा गुन्द्रुक उत्पादन सुरु गर्ने तयारी भइरहेको जानकारी दिइन् । हाल बजारमा यहाँको गुन्द्रुक प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । अहिलेसम्म १५ क्विन्टल भन्दा बढी गुन्द्रुक बिक्री भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*