चोरीका सामान फिर्ता गर्न अख्तियारको आग्रह
हेटौंडा-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रर्दशनको क्रममा चोरी भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । सोमबार सूचना जारी गर्दै भदौ २३ र २४ गते प्रर्दशनको क्रममा चोरी भएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको हो । अख्तियारले भदौ २४ गते केन्द्रीय कार्यालय काठमाडौंसहित इटहरी, पोखरा, हेटौंडा, बुटवललगायतका कार्यालयबाट चोरी तथा लुटपाट भएको जनाएको छ ।
त्यसक्रममा सवारी साधन, टिभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोवाइल, ल्यापटप, हिटर, पंखा चोरी भएको छ । सिसीटिभी फुटेजमार्फत् चोरी गर्नेलाई पहिचान गर्ने काम भइरहेकाले तत्काल सामानफिर्ता गर्न भनिएको छ । अन्यथा अख्तियार कानुनी प्रक्रियामा अगाडि बढ्ने चेतावनी दिइएको छ ।







