मनहरीका सबै विद्यालय सुचारु, आन्दोलनले शिक्षाशाखा अभिलेखबिहिन
हेटौंडा-मनहरी गाउँपालिकाभित्रका सबै विद्यालय सुचारु गरिएको छ । सामुदायिक र निजी विद्यालय गरी मनहरी गाउँपालिकामा रहेका ४० वटा विद्यालयसहित मन्टेश्वरी र बालविकास केन्द्र सञ्चालनमा आएको युवा, खेलकुद तथा शिक्षा शाखाले जनाएको छ ।‘कुनै पनि विद्यालयमा आन्दोलनकै कारण अबरोध खडा भएको वा समस्या परेकोबारे हामीलाई जानकारी छैन’, शाखाप्रमुख प्रदीप पराजुलीले भने–‘आइतबारबाट सबै विद्यालय सुचारु भएको जानकारी हामीलाई छ ।’
जेनजी पुस्ताको आन्दोलनका कारण शाखाका सबै अभिलेख ध्वस्त भएको उनले जानकारी दिए । शाखामा रहेका विद्यालयका अद्यावधिक कागजपत्ररहेका फाइल आन्दोलनकारीले बाहिर ल्याएर जलाएका थिए । त्यसैगरी टेवुल, कुर्सी, कम्प्युटर र अन्य सबैखाले कागजपत्र ध्वस्त भएको उनले बताए ।
‘हामीसँग अनलाइनमा स्टोर रहेका डकुमेन्ट मात्रै बाँकी छ’, पराजुलीले भने ‘अबको २ महिनामा पुनः अभिलेखहरु रिकभर गर्नेगरी काम गर्ने सोचेका छौं ।’ मनहरी गाउँपालिकाको वडा नं ३ लामिटारमा रहेको ‘ख’ ब्लक भवनमा युवा, खेलकुद तथा शिक्षाशाखा रहेको छ । शिक्षासँगै स्वास्थ्यशाखामा पनि आगजनी गरी क्षति गराइएको छ गाउँसभा र महत्वपूर्ण कार्यक्रमहरु सञ्चालनका लागि निर्माण र व्यवस्थित गरिएको एसीसहितको हलसमेत पूर्णरुपमा क्षति गराइएको गाउँपालिकाले जनाएको छ ।







