भीमफेदीका १६ कैदीबन्दी आफैँ कारागार फर्किए

साझाकुरा
२०८२ आश्विन १, बुधबार १३:४५

हेटौंडा-जेनजी आन्दोलनका क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर भागेकामध्ये सोमबार मात्र १६ जना कैदीबन्दी आफैं कारागार फर्किएका छन् । जेलबाट भागेकामध्ये आफैं कारागार फर्कनेको संख्या ३२ पुगेको छ । आन्दोलनका क्रममा विभिन्न कारागार र बाल सुधारगृहबाट भागेका कैदीबन्दीमध्ये हेटौंडामा २ सय २३ जना पक्राउ परेका छन् ।

भीमफेदी कारागाबाट भागेका ४४० जना कैदीबन्दीमध्ये नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले मकवानपुरका विभिन्न स्थानबाट १ सय ६३ जनालाई पक्राउ गरेको छ भने २७७ जना अझै फरार छन् । भीमफेदी कारागारको ‘क’ र ‘ख’ ब्लकको पर्खाल भत्काएर भदौ २५ गते राति साढे १२ वजे ४४० जना कैदीबन्दी फरार भएका थिए ।

‘फरार भएकामध्ये १ सय ६३ जनालाई पक्राउ गरियो । २७७ जना अझै फरार छन्,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए । जेल फोडेर भागेकाहरुलाई कारागार प्रशासनले फोन गरेर फर्कनका लागि अनुरोध गर्दै आएको छ ।‘यो अवधिमा ३२ जना जेलबाट भाग्नेहरु आफैं फर्किएका छन्,’ भीमफेदी कारागारका प्रमुख सुवास पौडेलले भने, ‘सोमबारमात्र १६ जना आफैं जेलमा आए ।’

यस्तै हेटौंडा उपमहा नगरपालिका–११ थानाभ¥याङमारहेको बालसुधारगृहबाट बुधबार बिहान ७२ जना भागेका थिए । तीमध्ये प्रहरीले ५३ जनालाई नियन्त्रणमा लिएको छ भने १९ जना अझै सम्पर्कमा आएका छैनन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंस्थित केन्द्रीय कारागार, नख्खु कारागार, भरतपुर, कास्की, तनहुँलगायत जेलबाट भागेकामध्ये मकवानपुरको विभिन्न स्थानबाट प्रहरीले ६० जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पनि भीमफेदी कारागारका राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*