मुख्यमन्त्री हराए, बागमती प्रदेश सरकार खोज्दै प्रतिपक्ष
हेटौंडा-जेनजी आन्दोलनका कारण बागमती प्रदेशसभा, अधिकांश मन्त्रालय र मातहतका निकाय क्षतिग्रस्त बनेको छ । भौतिक संरचनादेखि महत्वपूर्ण अभिलेख नष्ट भएका कारण सामान्य प्रशासनदेखि सार्वजनिक सेवाप्रवाहसम्म प्रभावित भइरहेका छन् । तर, संकटको समयमा समेत मुख्यमन्त्री र मन्त्रीहरुको भूमिका नदेखिएको भन्दै प्रतिपक्षी दलले आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेलले मुख्यमन्त्रीदेखि मन्त्रीसम्म संवेदनशील घडीमा बेपत्ता भएको आरोप लगाउँदै भने, ‘आज प्रदेश सरकार खोज्नुपर्ने अवस्था आएको छ । सर्वदलीय बैठक डाकेर अघि बढ्नुपर्नेमा मुख्यमन्त्री र मन्त्रीहरु हराएका छन् ।’
उनले अभिभावकत्व ग्रहण गर्नुपर्ने बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र मन्त्रीहरुले जिम्मेवारी नलिएको कारण प्रदेशका कर्मचारीको मनोबल समेत घटेको बताए । ‘के गर्ने, कसरी गर्ने भन्ने द्धिविधामा कर्मचारी अलमलमा छन् । जलेर ध्वस्त भएको संरचनाबीच सरकार अभिभावक बन्नुपर्नेमा उल्टै भागिरहेको छ,’ जम्कट्टेलको आरोप थियो । ‘संकट व्यवस्थापनमा सरकार अगाडि आउन नसक्ने हो भने भोलि जनता र राष्ट्रसेवक कर्मचारीको सामु कसरी मुख देखाउने ? सरकार जिम्मेवारीबाट उम्कन सक्दैन,’ जम्कट्टेलले चेतावनी दिए ।
त्यस्तै, एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्माखनालले प्रदेश सरकारको उपस्थिति कम भएको महसुस भएको बताउँदै तत्काल संसद बैठक बोलाउन पर्ने आवश्यकता औँल्याए । उनले भने, ‘चौरमा बसेर, पाल टाँगेर भएपनि संसद चलाउनुपर्छ । यस्तो अवस्थामा सरकार भाग्न मिल्दैन, लुक्न मिल्दैन ।’ शर्माले माथिका नेताको अदूरदर्शी नीतिका कारण आजको दुखदायी अवस्था सिर्जना भएको बताए । ‘जेनजीको माग ठीक छ, देशमा परिवर्तन आवश्यक छ । थप आवाज उठाउनपर्छ’ उनले भने ।
नेमकिपाका नेता सुरेन्द्रराज गोसाईले जनतामाझ माफी माग्दै इमान्दारिताका साथ प्रतिबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘जनताको हितमा काम नगर्ने, संकटको बेला भाग्ने प्रवृत्ति अब अन्त्य हुनुपर्छ । गोसाईले यस्तो कठिन घडीमा सिंगो देशकै हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए । ‘संकटको बेला काम गर्ने सामथ्र्य हिजोको सरकारमा पनि थिएन, आज पनि छैन । संकट आउनासाथ भागाभाग गर्ने प्रवृत्तिले नै जनतालाई निराश बनाएको हो,’ उनले भने ।
‘हिजो अवस्था सामान्य हुँदा पनि जनताको हितमा काम गर्न सकेनन् । आज वास्तविक संकटको बेला प्रदेश सरकार भागेको छ’ उनले थपे । ‘अब सुध्रिन्छौँ भनेर जनतालाई भन्न सक्नुपर्छ । चरित्र र प्रवृत्ति परिवर्तन नगरेसम्म यो अवस्थाबाट बाहिर निस्कन सकिँदैन, हिजोका भ्रष्टाचारीलाई कारबाही गरेर, भ्रष्ट प्रवृत्तिलाई अन्त्य गर्दै अघि बढ्नुको विकल्प छैन’ उनको भनाइ थियो । भदौ २४ गतेको जेनजी आन्दोलनपछि प्रदेशका अधिकांश मन्त्रालय, मातहतका कार्यालय र प्रदेशसभा भवनका साथै महत्वपूर्ण अभिलेख नष्ट भएका छन् । आन्दोलन भएको एकसाता बितिसक्दा पनि प्रदेशमा भएको क्षतिको आधिकारिक विवरण सार्वजनिक हुन सकेको छैन ।







