नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १७ जना सैनिक घाइते

हेटौंडा- मकवानपुर र बाराको सीमाना चुरियामाईस्थित पूर्वपश्चिम राजमार्गमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १७ जना सैनिक घाइते भएका छन् ।मंगलबार दिउँसो करिब २ बजे तनहुँको नं. २ राजदल गणबाट धनुषातर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका १७ जनामध्ये ६ जनालाई थप उपचारको लागि काठमाडौंस्थित सैनिक अस्पताल लगिएको र बाँकी ११ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
उपसेनानी हर्षविक्रम अधिकारीको कमाण्डमा जाँदै गरेका ४ वटा सेनाका ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । २२ जना सैनिकसवार रहेको ट्रक सडक किनारको पुलबाट करिब १०÷१२ फिट तल खोल्सामा खसेको छ । दुर्घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी नायवउपरीक्षक श्यामु अर्यालको कमाण्डमा मकवानपुर प्रहरी, ट्राफिक प्रहरी, ईलाका प्रहरी तथा रातोमाटे प्रहरीचौकीबाट टोली घटनास्थल पुगेको थियो । त्यस्तै बाराको अमलेखगञ्जबाट प्रहरी नायव निरीक्षक धनबहादुर श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरिएको थियो । नेपाली सेनाकै सहयोगमा घाइतेहरुलाई उद्दार गरी हेटौडा अस्पताल लगिएको थियो ।