प्रदेशमा सुशासन कायम गर्न दलहरु एकमत : बैठक यथाशीघ्र संचालन गर्ने सर्बदलीय निर्णय
हेटौंडा- बागमती प्रदेश सरकारले सार्वजनिक खर्च कटौतीका लागि यथाशीघ्र प्रभावकारी कार्यक्रम ल्याएर अगाडि बढाउने भएको छ ।बिहीबार बसेको सर्वदलीय बैठकमा प्रदेशमा सुशासन कायम गर्न र अनावश्यक खर्च कटौती गरी मितव्ययिता अपनाउन दलहरु एकमत भएका हुन् । बैठकमा सहभागी सबै दलका नेताले प्रदेश सरकारको कामकारबाहीलाई थप पारदर्शी, जवाफदेही र जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए । यसका लागि ठोस कार्ययोजना सहितको कार्यक्रम तत्कालै तर्जुमा गरी कार्यान्वयनमा लैजाने सहमति भएको हो । मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै फजुल खर्च नियन्त्रण गर्न र सुशासनको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले दलहरुको सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
बैठकले असोज ३ गते संविधान दिवसलाई प्रदेशभर भव्यताका साथ मनाउने निर्णय पनि बैठकले गरेको छ । सर्वदलीय बैठकले हालै भएको जेनजी अभियानका क्रममा भएका घटनाप्रति पनि गम्भीरतापूर्वक छलफलगरेको छ । त्यस्तै सर्वदलीय बैठकले प्रदेशसभाको बैठकलाई पनि यथाशीघ्र सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति जुटेको छ । बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
आन्दोलनका क्रममा प्रदेशभित्र प्रदेश सरकार मातहतका सरकारी संरचना, स्थानीय तहका कार्यालय तथा सर्वसाधारणका निजी एवं व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिको यथार्थ विवरण संकलन गर्ने निर्णय गरिएको छ । बैठकमा नेकपा एमाले संसदीय दलका नेता जेएन थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेकपा माओवादी संसदीय दलका प्रमुखसचेतक रत्न ढकाल र कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल लगायतको उपस्थिति रहेको थियो ।







