नापी कार्यालय दशैं सकिएपछि सञ्चालनमा आउने
हेटौंडा-भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको मकवानपुरको नापी कार्यालय दशैं बिदा सकिएपछि मात्र सञ्चालनमा आउने भएको छ । आगलागीका कारण कार्यालयका सबै सामग्री पूर्णरुपमा क्षतिग्रस्त भएकाले तत्काल सेवा सुचारु गर्न नसकिने भएको हो । कार्यालयको तल्लोतलामा रहेका नापी प्लट, रजिष्टर फाइल, नक्सा, सेवाग्राहीका निवेदन, तामेल नभएका कागजात, रेखांकनका निवेदन तथा वडा नम्बर २, ३ र १० का नयाँ नापीसम्बन्धी डाटा जलेर नष्ट भएको निमित्त कार्यालयप्रमुख प्रकाशघिमिरेले बताए । ‘प्राविधिक फाँटका प्लट रजिष्टर, सकल नक्शा र फाइल नक्सासमेत नष्ट भएको छ’ उनले भने, क्षतिको विवरण संकलन तथा मूल्यांकनको कार्य भइरहेको छ ।
यद्यपि, सकल नक्सा ३ सय १९ र फिल्ड बुक ३ सय ६६ थान सुरक्षित रहेको बताइएको छ । बैशाख जेठसम्मको डाटा सुरक्षित रहेको छ भने त्यसयताका तीन महिनाको कित्ताकाट गरिएका तर, स्क्यान नगरिएका फाइलहरु नष्ट भएका छन् । नेपाल ल्याण्ड इन्फरमेशन प्रणालीमार्फत प्रविष्ट गरिएका डाटा भने सुरक्षित रहेको निमित्तप्रमुख घिमिरेले जानकारी दिए । कार्यालयमा रहेका १५ वटा कम्प्युटर, १७ वटा सिसिटिभी क्यामेरा, १९ वटा प्रिन्टरसहित ३४ प्रकारका दुई सय ३१ थान सामग्री जलेर नष्ट भएको कार्यालयले जनाएको छ । नापी कार्यालय भवनको माथिल्लो तलामा रहेको भूमि समस्या समाधान आयोगका फाइल तथा जिन्सी सामग्री भने आगलागीबाट जोगिएको छ ।
बागमती गाउँपालिकाका लागि तयारी अवस्थामा रहेका १ सय ३ वटा लालपूर्जा पनि सुरक्षित रहेको कार्यालयले जनाएको छ । नापी अधिकृत रामेश्वरराज महतोका अनुसार, तल्लोतलामा रहेका सम्पूर्ण भौतिक संरचना, सवारीसाधन तथा कागजात जलेर नष्ट भएका छन् । सेवाप्रवाह बन्द हुँदा सेवाग्राहीले आवश्यक सेवा पाउनबाट वञ्चित भएका छन् । सेवा लिन आएका नागरिक फर्कनुपरेको छ । नागरिकलाई आवश्यक पर्ने देशका संरचना ध्वस्त हुनु दुःखद भएको सेवाग्राहीले गुनासो गरेका छन् । क्षतिग्रस्त बनेको कार्यालयको सरसफाइमा नापी कार्यालयका कर्मचारी व्यस्त छन् ।







