भीमफेदीमा धर्मगुरु रिम्पोछेको प्रतिमा निर्माणस्थलमा विद्युत पु¥याइँदै
हेटौंडा- मकवानपुरको उत्तरी क्षेत्रस्थित भीमफेदी गाउँपालिका–९ को बसीफाँट तारेभिरको पहरामा बौद्ध धर्मगुरु रिम्पोछेको विशाल आकृति निर्माणकार्य जारी छ ।भीमफेदी गाउँपालिकाको पहलमा बोधिचार्य फाउन्डेशनले गुरु रिम्पोछे (गुरु पद्मसम्भव) को १५० फिट अग्लो आकृति विशाल ढुंगा कुँदेर निर्माण गरिरहेको हो । निर्माण भइरहेको गुरु रिम्पोछेको आकृति एसियाकै अग्लो भएको गाउँपालिका कार्यालयले दाबी गरेको छ ।
तारेभिरमा यसअघि विद्युत नपुगेकाले जेनेरेटरको प्रयोग गरेर निर्माणकार्य हुँदै आएको थियो । अब भने नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले तारेभिरमा विद्युत पु¥याउने भएको छ ।बुधवार हेटौंडा वितरण केन्द्रले ६०० मिटर एबिसी केबल हस्तान्तरण गरेको छ । भीमफेदी गाउँपालिकाले ३ भदौमा प्राधिकरणलाई पत्राचार गर्दै विद्युत तार उपलब्ध गराइदिन अनुरोध गरेको थियो । बसीफाँट तारेभिरमा अब विद्युत पुग्ने पक्का भएकाले आकृति निर्माणमा सहजता हुने गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । उनले यस धार्मिकस्थल संसारका बौद्धमार्गीको तीर्थस्थलको रुपमा विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
आकृति निर्माणस्थल धर्मगुरु रिम्पोछेको तीर्थस्थल छुमिग ज्याङछ्युप नजिकै रहेको अध्यक्ष लामाले बताए । बसीफाँटको तारेभिरको पहरामा गुरु रिम्पोछेको आकृतिसँगै ५०÷५० फिट अग्लो गुरु ज्याडूल रिम्पोछे र गुरु पेनोर रिम्पोछेको आकृति ढुंगामा निर्माण भइरहेको छ ।







