४ वर्षको अथक प्रयासपछि थाहा–६ को तिनालबस्तीमा खानेपानी पहुँच

साझाकुरा
२०८२ आश्विन ४, शनिबार १२:०६

हेटौंडा-करिब चारवर्षको अथक प्रयास पश्चात् मकवानपुरको थाहानगरपालिका वडा नं. ६ को तिनाल बस्तीमा खानेपानीको पहुँच विस्तार गरिएको छ । तिनाल लिफ्टिङ खानेपानी आयोजनामा ७ सय मिटर तल खोल्साबाट पानी लिफ्टिङ गरी ८६ घरमा धारा वितरण गरिएको हो । १ सय १३ परिवारलाई लक्षित गरी निर्माण गरिएको आयोजनामा हालसम्म ८६ परिवारलाई खानेपानीको घरधारा जडान गरिसकिएको छ । च्वाइस नेपालको करिब ३४ लाख, थाहा नगरपालिकाको ९ लाख तथा स्थानीय समुदायको १७ लाख ५० हजारको लागतमा आयोजना निर्माण सम्पन्न भएको च्वाइस नेपालका खानेपानी प्राविधिक सुभाषचन्द्र मरहट्टाले जानकारी दिए ।

निर्माण सम्पन्न पश्चात् स्थानीयबासीलाई डेढघण्टा लगाएर कुवा र खोल्साबाट पानी ल्याएर खानुपर्ने बाध्यताको अन्त्य भएकोछ । घरकै धारामा पानी आएपछि खुशी हुँदै स्थानीय ६५ वर्षिय कान्छी बलामीले भनिन्–‘तसर गाउँमा पुगी अर्काको धाराबाट घण्टौं लगाएर पानी बोकेर खानुपर्ने बाध्यता हट्यो’ उनले अटो (तीनपांग्रे सवारी)मा एकखेप पानी ल्याएको २ सय भन्दा बढी भाडा तिरेर पानी ल्याउनु परेको सम्झँदै भनिन् (अटो र भारी बोकेर पानी ओसार्ने दिन गए, महिनावारी ३ सय तिरेपछि सँधै पानी घरैमा थाप्न पाइन्छ ।’

त्यसैगरी वडा नम्बर ६ का वडाध्यक्ष राजनभक्त श्रेष्ठले च्वाइस नेपालको सहयोगको प्रशंसा गर्दै संस्थाको सहयोगकै कारण तिनालमा खानेपानी खुवाउन सम्भव भएको बताए । कार्यक्रमका प्रमुखअतिथि रहेका श्रेष्ठले आयोजनाको दिगोपनाको लागि महशुल संकलन, व्यवस्थापन र परदर्शीरुपमा काम गर्न समितिलाई आग्रह गरे । ‘तपाईहरु खानेपानीको दिगो व्यवस्थापनका लागि सक्रियता देखाउनुस, मासिक महशुल संकलन तथा मर्मतसंभार सबै व्यवस्था गर्नुस् त्यति गर्दा पनि आर्थिक स्रोत कमजोर भए वडा कार्यालयले सहयोग गर्छ’–अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाए ।

च्वाइस नेपालका फिल्ड अपरेसन डिरेक्टर भेश्वगल जिसीले योजना सम्पन्न गरी उद्घाटन गरेर छोड्ने च्वाइस नेपालको मनशााय नभएको बताए । कार्यक्रम निर्देशक जिसीले समुदायको सक्रियताका कारण खानेपानी योजना सम्पन्न भई वितरणकार्य भइरहेको बताउँदै संस्थाको तर्फबाट प्राविधिक सहयोगसँगै समन्वय र सहजीकरणलाई निरन्तरता दिने उल्लेख गरे । कार्यक्रममा तिनाल खानेपानी आयोजनाको उपभोक्ता तथा स्थानीय समाजसेवी कल्पना बलामीले बारीमा काम गर्न आउँदा पनि बजारबाट बोतलमा पानी बोकर आउनुपर्ने बाध्यताको अन्त्य भएको बताइन् ।

खानेपानी आयोजनालाई सफल पार्नका लागि योगदान दिने च्वाइस नेपाल, थाहानगर–६ वडा कार्यालय, थाहानगर खानेपानी व्यवस्थापन बोर्डलाई समितिको तर्फबाट सम्मान गरिएको थियो । तिनाल लिफ्टिङ खानेपानी आयोजनाका निर्माणका लागि सर्वपक्षीय सहयोग जुटार सक्रियतापूर्वक योजना सम्पन्न गर्न सफल भएकोमा समितिका अध्यक्ष केदार बलामी पनि सम्मानित भएका थिए ।

निर्माण समितिका अध्यक्ष बलामीको सभाध्यक्षामा भएको कार्यक्रममा च्वाइस नेपाल मकवानपुरका फिल्ड कोअर्डिनेटर सुकराम दुलाल, खानेपानी प्राविधिक सुभासचन्द्र मरहट्टा, थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरजकुमार भुजेल, थाहा नगरपालिका फिल्ड सहायक अच्युत विडारी, उपभोक्ता समितिका पदाअधिकारीहरु तथा स्थानीय उपभोक्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*